coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीविरुद्ध नेपाल समूह राष्ट्रिय अभियानमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

ओली समूहले शुक्रबार बोलाएको केन्द्रीय समितिको बैठकले गरेका निर्णयको सशक्त प्रतिवाद गर्ने हिसाबले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो। ओली समूहले अर्को केन्द्रीय कमिटीको बैठक बोलाएको दिनको ठीक तीन दिनअघि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमालेभित्रको अन्तरसंघर्ष चरम बिन्दुमा पुग्ने देखिएको छ।  

ओलीले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाई विधानविपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, अध्यक्ष र महासचिवबाहेक पद खारेज गर्ने, प्रदेश इन्चार्जको चयन तथा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापासहित २३ नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थिए।

नेपाल समूहको शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीद्वारा शुक्रबार चालिएको कदमपछि उत्पन्न परिस्थितिले पार्टीमा गम्भीर रूपमा विचलन ल्याएको निष्कर्ष निकालेको छ। छलफलका क्रममा नेपाल समूहका सांसदसहित केन्द्रीय सदस्यहरूले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरू हरहमेसा तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने तर ओली प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्नुपरे पछि नहट्ने धारणा राखेको स्रोतले बतायो। अधिकांश सदस्यले पार्टी एकीकृत हुँदाको अन्तरसंघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएको अवस्था र यसबीचमा पार्टी अध्यक्ष ओलीले गरेको व्यवहारका आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने भएकाले नयाँ विकल्पबारे रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउनुपर्ने सुझाव दिएका थिए।

ओलीले शुक्रबार एकपक्षीय रूपमा प्रदेश संयोजक तोकेपछि नेपाल समूहले समानान्तर कमिटीको अभ्यास सुरु गरिसकेको छ। ओलीले एकलौटी रूपमा निर्णय गरेको भन्दै शुक्रबार साँझ नै नेपाल समूहको बैठक बसेको थियो। बैठकले अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकाल्दै समानान्तर कमिटी बनाउने निर्णय गरेको छ। नेपाल समूहको बैठकले अध्यक्ष ओलीले एकलौटी रूपमा गरेका सम्पूर्ण निर्णय विधानविपरीत भएकाले ती निर्णय अमान्य र अस्वीकार्य भएको भन्दै यसलाई राष्ट्रिय अभियान गरेर विरोध गर्नुपर्ने निष्कर्षका साथ चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।  

राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय निकायका सदस्यहरूलाई बोलाइएको एमाले उपाध्यक्ष भीम रावलले बताए। बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्जहरू तोकेको छ। जसमा प्रदेश १ को इन्चार्जमा भीम आचार्य, प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाल, वाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्जमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीलाई र सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको छ।

त्यस्तै युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ। एमाले अध्यक्ष केपी ओली शुक्रबारको निर्णयलाई फिर्ता गर्ने कुनै सोचमा नभई बलमिच्याइँबाटै कार्यान्वयनमा लैजाने रणनीति देखिएको छ। केन्द्रीय कमिटीको विस्तारसँगै एमालेको केन्द्रीय सदस्य संख्या २ सय ६४ पुगेको छ। पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको ओली समूहले अर्को केन्द्रीय समितिको बैठक चैत ७ गते बोलाएको छ।

प्रकाशित: १ चैत्र २०७७ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App