९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘नेपालले छिट्टै विद्युत् निर्यात गर्छ’

भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपालले निकट भविष्यमा विद्युत निर्यात सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। बुधबार भारतीय संस्था ‘रिचर्स एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज’ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

हाल नेपालले भारतबाट सात सय मेगावाट विद्युत् आयात गरिरहेको बताउँदै उनले अब नेपालले विद्युत् निर्यात गर्ने बताए। उनले भारत सरकारको सहयोगमा नेपालको ढल्केवरदेखि भारतको मुजप्फरपुरसम्मको पहिलो उच्च क्षमताको अन्तरदेशीय ट्रान्समिसन लाइन सम्पन्न भइसकेको र यसलाई सन् २०२० मा ४०० केभिमा स्तरोन्नति भएको बताएका छन्।  

अन्य अन्तरदेशीय उच्च क्षमताका ट्रान्समिसन लाइनको पनि परिकल्पना भइरहेको उनले बताए। विदेशसचिव श्रींगलाले हाल सतलज जलविद्युत् निगम लिमिटेडले ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको र जिएमआरले ९०० मेगावाटको माथिल्लो कर्णली जलविद्युत् परियोजना पनि निर्माण गरिरहेको बताएका छन्। माथिल्लो कर्णाली परियोजना निर्यातमा आधारित परियोजना भएको बताउँदै उनले यसबाट भारत र बंगलादेशमा विद्युत् निर्यात हुने बताए। उनले भुटान बंगलादेश, नेपाल, म्यानमार र भारतलाई ऊर्जा हब बनाउने क्षेत्रमा काम गरिरहेको बताएका छन्।  

श्रींगलाले सम्बोधनका क्रममा भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रेलियम पदार्थसम्बन्धी पाइपलाइन निर्माण गरेको र हाल उक्त परियोजनालाई चितवनसम्म विस्तार गर्ने र भारतको सिलगुढी हुँदै नेपालको झापासम्मको नयाँ पाइपलाइन निर्माणबारेमा तयारी भइरहेको बताएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App