२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं : जनार्दन शर्मा

फाइल तस्बिर।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो आवश्यक रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले राजनीतिक समावेशी विकास र सामाजिक न्याय सहितको राजनीतिका लागि युवाहरु एक हुनुपर्ने बताएका हुन्।

‘राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीतिप्रति घृणा गर्दै लोकतान्त्रिक मूल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपूर्ण आचरणमा प्रतिवद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं’ शर्माले आह्वान गरेका छन्।  

उनले समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएर राजनीति कमजोर बनेको समेत बताएका छन्। परिवर्तनको मर्म अनुरुप राज्यको पुनर्संरचना, लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ, व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको उनको ठहर छ।  

नेता शर्माले शीर्ष नेताहरुको कमजोरीका कारण राजनीति संकट निम्तिने गरेको बताउँदै आएका छन्। उनले केहीदिनअघि मात्र साविकको नेकपाका सचिवालय सदस्य बाहेकका सांसद्हरु बसेर नयाँ निष्कर्ष निकाल्नुपर्ने बताएका थिए।

गत आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीबीचको एकतालाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई खारेज गरेर एमाले र माओवादी केन्द ब्यूँताइदिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App