४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नाचगानसहित एमाले पार्टी कार्यालय खुल्यो

सिन्धुलीको कमलामाई नगरपालिका ६ दुई नम्बर बजारमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा खुसीयाली मनाउँदै नेता तथा कार्यकर्ता । मंगलबारबाट नेकपा एमालेको बोर्ड झुन्ड्याइएको छ । तस्बिर : अनिल/नागरिक

तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।  

बन्द रहेको पार्टी कार्यालयमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयले सुरक्षा दिँदै आएको थियो। सर्वोच्च अदालतले नेकपालाई पूर्ववतः अवस्थामा नै फर्किएको सन्देशसहितको फैसला गरेपछि मंगलबारबाट नेता तथा कार्यकर्ताले नाचगानसहित नेकपा एमालेको बोर्ड राख्दै नेकपा एमालेका नेता कार्यकर्ताले एक अर्कालाई अविर लगाएर शुभकामना दिँदै पार्टी कार्यालय खुलाएको पार्टीका उपसचिव महेन्द्रदेव श्रेष्ठले बताए।  

पार्टी कार्यालय खुलाउन माधव नेपाल पक्षका नेता तथा कार्यकर्ता समेत सहभागी भएका थिए। नेपाल पक्षका नेता तथा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले नेकपा एमालेलाई अगाडी बढाउन सबैको अहम् भूमिका भएको स्मरण गर्दै पार्टी केन्द्रीय कार्यालयको निर्देशनका आधारमा पार्टी एक भएको स्मरण गरे। 'माओवादी केन्द्रसँगको सहकार्य र एकतामा नेकपाले दुई तिहाइको सरकार बनाएको थियो,' उनले भने 'आगामी दिनमा नेकपा एमालेकै दुई तिहाई बहुमत आउने गरि हामी सबै लाग्नुपर्छ।' ओली पक्षका नेता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवालले सर्वोच्चको आदेशलाई मानेर नेकपा एमालेमै फर्किएकोमा माधव नेपालसहित उनको टिमलाई धन्यवाद दिए। 'सर्वोच्चले गरेको निर्देशन पालन गरेकोमा माधव नेपाललाई धन्यवाद दिन चाहन्छु,' उनले भने, 'अब एमाले एकीकृत आन्दोलनको पक्षमा गएको छ।' 

आफूहरुले पसिना बगाएर बनाएको घरमा तीन महिनासम्म बस्न नपाएको भन्दै उनले केन्द्रको निर्देशनलाई पालना गरेर तीन महिनासम्म पार्टी कार्यालय नखोलेको बताए। 'दाजुभाई घरमा झगडा गर्छन् तर फेरि एक हुन्छन्,' उनले भने 'हाम्रो त्यस्तै हो अब हामी एक भएका छौं।' उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई केपी ओली सरकारलाई सहयोग गर्न आग्रह गरे। 'अब हामी म होइन हामी भनेर लाग्नेछौ,' उनले भने, 'हाम्रो एकता जिन्दावाद।' उनले सरकारमा रहेका प्रचण्ड पक्षका नेताहरुलाई समेत पार्टीले उचित मूल्याङकन गरि पार्टीको आन्दोलनको योगदानलाई कदर गर्ने बताए।

प्रकाशित: २५ फाल्गुन २०७७ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App