coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको नेतृत्व लिने कांग्रेस संकेत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।  

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार र्भको पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छ । राजनीतिक रूपमा दुई समूहमा विभाजन भए पनि कानुनी रूपमा अझै एउटै रहेको नेकपाका दुवै समूहले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गरेका छन् ।  

पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याएको बताउँदै प्रधानमन्त्री बन्न आएको प्रस्तावमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘फागुन २३ गते संसद् बैठक बस्न लागेको अवस्थामा नेकपाका दुवै पक्ष र सञ्चार माध्यमहरूसहित देश तथा विदेशमा रहनुभएका सबैले कांग्रेसतर्फ हेरिरहनुभएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याएको छ तर कांग्रेसले ढोका खोलेर ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं ।’

दुवै समूहबाट सरकारको नेतृत्वका लागि प्रस्ताव आएको भन्दै सभापति शेरबहादुर देउवासहितका नेताहरू अब कसरी र कोसँग मिलेर अघि बढ्ने भन्ने छलफलमा प्रवेश गरेका छन् । पार्टीले अग्रसरता नलिँदा नयाँ सरकार गठनदेखि अहिलेको विद्यमान अवस्थामा परिवर्तन नआउने कांग्रेस नेताहरूको बुझाइ छ । त्यसका लागि आवश्यक परे कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राखेर अघि बढ्नुपर्ने नेताहरूको बुझाइछ । तर कतिपय नेताले नेकपा अहिलेसम्म एउटै दल भएकाले पार्टीले अविश्वासको प्रस्ताव राख्न संख्या पनि नपुग्ने र त्यो पारित हुने सम्भावना पनि कम रहने भन्दै राजनीतिक दलसम्बन्धी ऐन र संविधानको व्यवस्थालाई ख्याल गर्न नेतृत्वलाई सुझाएका छन् । यद्यपि शुक्रबार १ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने विषयमा पनि छलफल हुनेछ ।

नेताहरूले गत वैशाखमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको सरकारले मुलुकको शासनसञ्चालन गर्ने नैतिक आधार गुमाएको निर्णय लिइसकेको स्मरण गराउँदै अर्को समूहसँग मिलेर अघि बढ्न नेतृत्वलाई सुझाएका छन् । पार्टीका लागि ओली समूहसँग भन्दा दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्दा तत्कालीन र दीर्घकालीन रुपमा फाइदा पुग्ने नेताहरूको विश्लेषण छ । ओलीसँग मिलेर अघि बढ्दा जनताले कांग्रेसलाई पनि प्रश्न गर्ने बताउँदै नेता रामचन्द्र पौडेलसहितका नेताहरूले दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।  

प्रधानमन्त्रीका लागि आएको प्रस्तावमा कसरी प्रस्तुत हुनु उचित हुन्छ भन्नेमा पार्टी छलफलमै रहेको बताउँदै शर्माले केही सैद्धान्तिक र केही नीतिगत विषयमा कुराकानी सुरु भएको जानकारी दिए । ‘छलफल भर्खरमात्रै सुरु भएको छ । उपयुक्त समयमा कांग्रेसले उपयुक्त निर्णय लिन्छ,’ उनले भने ।

सभापति देउवाले बुधबार प्रधानमन्त्रीको जिम्मेवारी आए आफू नभाग्ने धारणा राखेका थिए भने नेता पौडेलले जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षीमा बस्ने जिम्मेवारी दिएकाले त्यही भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App