१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पुल र सडकको काममा भएको ढिलासुस्तीविरुद्ध उत्रियो कांग्रेस

सडक, पुल लगायतमा भएको ढिलासुस्ती र बेथिति नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ध्यानाकर्षण–पत्र बुझाउँदै कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराई । तस्बिर : नागरिक

कांग्रेसले खोटाङ र उदयपुर जोड्ने फोक्सिङटार पुल तथा महुरे–फोक्सिङटार सडक कालोपत्रेका काममा भइरहेको ढिलासुस्तीविरुद्ध आवाज उठाएको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ खोटाङले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ध्यानाकर्षण–पत्र बुझाउँदै खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल तथा गाईघाट–दिक्तेल सडक अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेमा भइरहेको ढिलासुस्ती विरुद्ध आवाज उठाएको हो । गत माघ २८ गते बड्कादियालेमा बसेको बैठकको निर्णय अनुसार कांग्रेस क्षेत्रीय समितिले पुल तथा सडक कालोपत्रेका क्रममा भइरहेका ढिलासुस्तीका विरुद्ध प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ ।  

क्षेत्रीय सभापति तिर्थराज भट्टराईले बुझाएको ध्यानाकर्षण–पत्र एक हप्ताभित्र ठेकेदारसहितको सर्वदलीय–सर्बपक्षिय बैठक बोलाएर फोक्सिङटार पुलको कामलाई तिव्रता दिनका लागि दवाव सिर्जना प्रशासनको ध्यानाकर्षण गराइएको छ । २०६९ साल चैत्र २३ गते ठेक्का लागे पनि २०७३ साल कार्तिकमा डिजाईन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ साल चैत्रमै गुज्रिएको अवस्थामा कांग्रेसले चासो देखाएको हो । गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको ‘आर्क–ब्रिज’ पुलको काम हालसम्म करिब ५०–५५ प्रतिशत मात्र पूरा भएको अनुमान गरिएको छ । ‘खोटाङ्गे जनताको भाग्य र भविष्यसँग सरोकार राख्ने फोक्सिङटार पुलको काम ४५ प्रतिशत भन्दा बढि नभएको बुझिन्छ । यही गतीले पुलको काम अघि बढाउने हो भने अझै वर्षौँसम्म नदीमा ओहोर–दोहोर गर्न सकिने अवस्था देखिदैन,’ ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘त्यसैले निर्माण कम्पनी सहित हप्ता दिनभित्र सर्वदलीय–सर्बपक्षिय बैठक बोलाएर कामलाई तिव्रता दिनका लागि दवाव सिर्जना गरियोस् ।’  

कांग्रेसले तत्काल सर्वपक्षीय बैठक राखेर महुरे–फोक्सिङटार सडक कालोपत्रेको कामलाई गति दिनका लागि पनि पहल कदमी चाल्न प्रशासनलाई भनेको छ । निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको महुरे–फोक्सिङटार सडक कालोपत्रेमा ढिलासुस्ती हुँदा हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।  

शंखेश्वर महादेव मन्दिर निर्माणमा भ्रष्टाचार  

कांग्रेसले बराहपोखरी गाउँपालिका–१ बराहापोखरीस्थित शंखेश्वर महादेव मन्दिर निर्माणकाक्रममा गुणस्तरहिन सामग्रीको प्रयोग गरी भ्रष्टाचार भएको जनाएको छ । विघटित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मन्दिर निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट ४५ लाख छुट्याएको तर गुणस्तरहिन सामग्रीको प्रयोग गरी भ्रष्टाचार भएको भन्दै कांग्रेसले छानविनको माग गरेको छ । मन्दिर निर्माण उपभोक्ता समिति गठन, बिल भौचर तथा सार्वजनिक सुनुवाईको कागज समेत मगाएर तत्काल छानविनको काम गरी दोषीमाथि कारबाही गर्न माग गरिएको कांग्रेस क्षेत्रीय सभापति भट्टराईले बताए ।  

यस्तै, साकेला गाउँपालिका–४ मात्तिमको घट्टेखोला–सौरे खोला खानेपानी योजनामा चरम लापरवाही र भ्रष्टाचार भएको सामाजिक सञ्जालमा आएको उल्लेख गर्दै कांग्रेसले सत्ता र शक्तिको आडमा हुने यस्ता गतिविधिलाई छानविन गरी तत्काल कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ । कांग्रेसले खानेपानी योजनाको उपभोक्ता समिति गठन, सार्वजनिक सुनुवाई, उक्त योजनाका विषयमा गाउँपालिकाबाट छानविन गरी बुझाइएको प्रतिवेदन सहितका कागजात मगाएर दोषीमाथि बारबाही गर्न माग गरेको छ ।  

यस्तै, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायी लगायतको बैठकबाट निर्धारण गरिएको सार्वजानिक यातायात भाडादर कार्यान्वयन गर्न, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा वडा कार्यालयबाट कानून सम्मत सहायक कर्मचारी नियुक्ति गर्ने सहमति कार्यान्वयनमा नियमन गर्न ध्यानाकर्षण–पत्रमा भनिएको छ । जनताको चासो र सरोकारका विषयमा पटक–पटक स्मरण–पत्र र ज्ञापन–पत्रमार्फत सचेत गराइए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत जिम्मेवारी पाएको प्रशासनले हस्तक्षेपकारी भूमीका निर्वाह गर्न नसकेको क्षेत्रीय सभापति भट्टराईले बताए ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App