६ वैशाख २०८१ बिहीबार
राजनीति

गण्डकीका मुख्यमन्त्री भन्छन्ः काम गर्न सकिन, तर माफि माग्दिन

गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सव

पोखरामा प्रदेश सरकारको वार्षिकोत्सवमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिरः उमेश पुन÷नागरिक<br>

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको तीनवर्ष सकिँदापनि काम गर्न नसक्नुमा संघ सरकार दोषी रहेको बताएका छन् ।  

गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघ सरकारका कारण प्रदेश सरकार स्थापना भएको तीनवर्ष बित्दापनि सोचेजस्तो काम गर्न नसकेको गुनासो सुनाए ।  

‘जनताको साथ र समर्थन हुँदाहुँदै पनि काम गर्न सकिएन,’ उनले भने, ‘संघ सरकारका कारण, सिंहदरबारका कारण, केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नै बनेन ।’ काम गर्न नसके पनि आफुले माफि भने नमाग्ने उनले बताए । ‘हाम्रो कारणले भन्दापनि संघ, सिंहदरबार, काठमाडौंको केन्द्रीकृत मानसिकताको कारणले काम गर्न सकिएन, त्यसैले यसमा हाम्रो दोष छैन,’ उनले भने, ‘त्यही भएर मैले माफि पनि माग्दिन ।’

मुख्यमन्त्री गुरुङले विभिन्न पूर्वाधार बनाउनका लागि जग्गा प्राप्ति संघीयता कार्यान्वयनको मुख्य बाधक भएको बताए । जग्गाका कारण चाहेर पनि पूर्वाधार निर्माण गर्न नसक्दा प्रदेश सरकारको काम नदेखिएको उनको भनाई छ । जग्गा मागेको एकमहिनामा प्राप्ति भइसक्नुपर्नेमा ३ वर्ष पुग्दापनि नपाउँदा काम गर्न नपाएको उनले बताए । संघीयताको विरोध गर्ने संविधान विरोधी भएको आरोप लगाउँदै उनले भने, ‘संघीयता विरोधी कुरा किन गरेको ? तपाईंले संविधान मान्नु पर्दैन ? ।’

मुख्यमन्त्री गुरुङले तीनवर्ष पार गरेपछि प्रदेश बल्ल सरकार हुनुको महशुस भएको बताए । जग्गा प्राप्तिदेखि प्रदेश प्रहरी तथा कर्मचारी समेत आफैले भर्ना गर्न पाउने लगायतका व्यवस्था भएपछि सरकार हुनुको महशुस बल्ल भएको उनको भनाई छ । उनले गण्डकी प्रदेश उज्यालो प्रदेश, एकघर एकधारा, सडक, पानी, मुख्यमन्त्री नमूना कृषि गाउँ, होम–स्टेलगायतका कार्यक्रमले प्रदेशको काम अलिअलि भएपनि देखिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सरकार हुनुको महशुश गराउन नसकेको टिप्पणी गरे । ‘डकुमेन्टमा त हामीले काम गरेको देख्यौं, तर प्रदेशबासीले अनुभूति गर्नेगरी काम भएको देखिदैन,’ उनले भने ।

प्रकाशित: ४ फाल्गुन २०७७ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App