५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रामकुमारी झाँक्री पक्राउबारे कुन् नेताले के भने ?

तस्वीरः नागरिक/दिपेश श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति विभिन्न राजनीतिक दलका नेताहरूले आक्रोश व्यक्त गरेका छन्। राष्ट्रपतिविरुद्ध बोलेको अभियोगमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको थियो।  

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी झाँक्रीले पछिल्लोपटक माघ १६ गते गोरखामा आयोजित एक कार्यक्रममा मदन भण्डारीको हत्यापछि सेतो सारी लगाएर विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु नै गल्ती भएको बताएकी थिइन्। त्यसपछि उनको चर्को आलोचना भएको थियो।  

बिहीबार बिहान झाँक्री पक्राउ परेगत्तै विभिन्न राजनीतिक दलका नेताहरूले टिकाटिप्पणी गरेका छन्।

प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन्। ‘तथाकथित राष्ट्रपतिको बारेमा गलत बोलेको नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा कमरेड रामकुमारी झाँक्रीलाई जर्बजस्ती पक्राउ गरिएको छ’, उनले भनेका छन्। लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचार राख्नेलाई प्रहरीले पक्राउ गरेको उनको टिप्पणी छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झाँक्रीलाई पक्राउ गरेर ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको’ बताएका छन्।

यस्तै, नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्न गर्दा सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाए।  

अर्का कांग्रेस नेता डा. शेखर कोइरालाले अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको टिप्पणी गरे।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले देशलाई मुठभेडमा लगेर आफ्नो स्वार्थ पूर्ति गर्ने षडयन्त्रअनुसार नेतृ झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

सोही समूहका अर्का नेता योगेश भट्टराईले ‘झाँक्रीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने’ टिप्पणी गरे। प्रहरीले पक्राउ गरेपछि नेतृ झाँक्रीलाई थप परिपक्व बनाउने उनको भनाई छ।

झाँक्री स्वयंले भने तानाशाहको ढल्ने बेलामा प्वाँख आएको रूपमा आफूले लिएको प्रतिक्रिया दिइन्। उनलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै आफूहरू प्रतिगमनकाविरूद्ध सडकबाटै लडेका स्मरण गरेकी थिइन्।

यसैबीच, नेपाली कांग्रेसले बिहीबार साँझ एक विज्ञप्ति जारी गरेर झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको थियाे।  

प्रकाशित: २९ माघ २०७७ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App