९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

केन्द्रीय समिति बैठक बोलाउन पौडेलको माग

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगमा गरेको नियुक्तिसहित मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग पछिल्लो अवस्थाबारे छलफल गनुपर्र्ने भनिसकेको उल्लेख गर्दै नेता पौडेलले संवैधानिक अंगमा भएको नियुक्तिसहितका विषयमा स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिएका हुन्।  

‘पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ,’ पौडेलले ट्विटमा लेखेका छन्, ‘मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर आवश्यक छलफल गर्न भनेको छु।’ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि निर्वाचन कि पुनःस्थापना भन्नेमा कांग्रेसले केही बोलेको छैन। सोही विषयमा धारणा बनाउन पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक स्थगित हुँदै बस्दै गरेर ३६ दिनपछि माघ १३ गते सकिएको थियो।  

विघटनविरुद्ध सामान्य विरोधका कार्यक्रम तय गर्दै त्यस विषयमा कांग्रेस केन्द्रीय समिति बैठकले केही बोलेको छैन। अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी बसेको बैठकले रिक्त रहेका संवैधानिक अंगमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो। अध्यादेशमार्फत ऐन संशोधन गरेको भन्दै लगत्तै बसेको कांग्रेस पदाधिकारीको बैठकले त्यसलाई अस्वीकार गर्नुका साथै नियुक्ति प्रक्रियामा पनि सहभागी नहुने निर्णय गरेको थियो। तर सरकारले बुधबार विभिन्न संवैधानिक अंगका पदाधिकारीमा ३२ जनालाई नियुक्त गरेको छ।

प्रकाशित: २३ माघ २०७७ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App