६ वैशाख २०८१ बिहीबार
राजनीति

‘सर्वोच्चको फैसला मान्य हुन्छ’

पत्रकार सम्मेलनमा बोल्दै जसपा नेता राजेन्द्र महतोलगायत। तस्बिर : नागरिक

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद् विघटनको निर्णय खारेज गर्दै पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रहेको विचारधीन मुद्दामा सर्वोच्चले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताएका छन्।  

शुक्रबार प्रेस मञ्च सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले संविधानको अन्तिम व्याख्या गर्ने संवैधानिक निकायसमेत सर्वोच्च अदालत नै रहेकोले अदालतबाट संविधानको सही व्याख्या गरिने अपेक्षासहित अदालतको अन्तिम फैसला आफूहरूलाई मान्य हुने बताए। प्रधानमन्त्री ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मका नेकपाका सबै नेताहरू तानाशाह, धूर्त र धोकेबाज रहेको आरोपसमेत नेता महतोले लगाए। ‘

प्रधानमन्त्री ‘ओली आफ्नो स्वार्थ, आफ्नो कुर्सीका लागि संविधानकै हत्या गर्न उद्धत भएका छन्, प्रचण्डजीहरू पनि शत्ताकै लागि संघर्ष गरिराख्नुभएको छ,’ उनले भने, ‘प्रचण्डलगायत नेकपाका अर्को गुटले हाल थालेको आन्दोलन प्रतिगमनविरुद्ध वा संसद् पुनःस्थापनाका लागि होइन, दुवैपक्ष शत्ता स्वार्थपूर्तिकै लागि हानाथाप गरिरहेको अवस्था छ।’ शत्ता स्वार्थका कुराहरूमा मेल खाए पुनः ओली र प्रचण्ड गुट एक आपसमा मिल्ने सम्भावना पनि उत्तिकै रहेको महतोको भनाइ छ। उनले भने, ‘पार्टी अहिले पनि विभाजित भएको अवस्था छैन, भोली आ–आफ्ना स्वार्थका मुद्दाहरूमा सहमति भएपछि दुवै गुट मिलेर अगाडी नबढ्लान भन्ने आधार के त ?’  

वर्तमान सरकार मधेस विरोध रहेको बताउँदै नेता महतोले कोरोनाको बहानामा बन्द गरिएको सीमानाका अहिलेसम्म ठप्प राखेर ओली नेतृत्वको सरकारले मधेसी जनतालाई पीडा मात्रै दिन खोजेको उनको आरोप छ। ‘मधेसको संस्कृति, मधेसको रोजगार तथा तथा शैक्षिक गतिविधि भारतसँग प्रत्यक्ष जोडिएको छ,’ उनले भने, ‘वर्तमान सरकारको कदमले मधेसीहरू आफ्नो संस्कृति अनुरूप बिहेवारी नगरुन्, पढ्न तथा कमाउन भारततिर नजाउन भन्ने मनसायले अभिप्रेरित रहेको देखिन्छ।’ ओली सरकारको अत्याचारको पराकाष्ठा बढदै गएपछि मुलुकमा चाँडै नै ठूलो जनविद्रोह प्रारम्भ हुने सम्भावना उत्तिकै रहेको महतोले बताए।

प्रकाशित: १० माघ २०७७ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App