६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा फुटेको होइन एकता प्रक्रिया अवरुद्ध मात्र भएको हो : महेश बस्नेत

युवा संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेत । तस्बिर : उमेश पुन/नागरिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले अहिले भएको विभाजनलाई पार्टी फुटेको रुपमा बुझ्न नहुने बताएका छन्। युवा संघ कास्कीले शनिबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अहिले पार्टी फुटेको नभई एकता प्रक्रिया अवरुद्ध मात्र भएको बताएका हुन्। ‘पार्टी फुटेको भन्दापनि एकता प्रक्रियामा अवरुद्ध भएको भन्ने अर्थमा हामीले बुझेका छौं’, उनले भने।

नेता बस्नेतले केपी ओली नेतृत्वको नेकपा नै संस्थापन पक्ष भएको दाबी गरे। ‘अहिले हेर्दा केपी साविक एमालेको मूल स्पिरिटमा माओवादीका केहि नेतृत्वका साथीहरु जोडिएर केपी ओली नेतृत्वको नेकपा र साविक माओवादीको मूल स्पिरिटमा तत्कालिन एमालेका केही नेतृत्वका साथीहरु मिलेर प्रचण्ड नेतृत्वको नेकपा बनेको देखिन्छ, त्यसैले पूर्व एमालेको लिगेसी बोकेको ओली नेतृत्वको हाम्रो पार्टी नै नेकपाको संस्थापन पक्ष हो’–उनले भने। त्यसैले नेकपाको नाम र चुनाव चिह्नमा धेरै विवाद गरिरहनु नपर्ने उनको भनाइ छ। सूर्य चिह्न ओली नेतृत्वको नेकपाले पाउने भन्दै यसमा धेरै र्‍याल नचुहाउन प्रचण्ड–माधव समूहलाई उनले आग्रह गरे। 

सूर्य चिह्न अंकित भोटो लगाएर निर्वाचन आयोग गएकोप्रति व्यंग्य गर्दै उनले भने,‘हिजो निर्वाचन आयोगमा सूर्य चिह्नको भोटो लगाएर जानु कार्टुन चित्रजस्तो लाग्यो। जुन अस्वाभाविक र अप्राकृतिक छ।’ उनले अर्काको चुनाव चिह्न लिएर लोकप्रियताको मापन नहुने भन्दै उनले भने,‘साविक माओवादीको चिह्न गोलाकार भित्रको हँसिया हथौडा हो। प्रचण्डले आफ्नो लोकप्रियताको मापन गर्ने हो भने सूर्य चिह्न माथिको दावा उहाँले छोड्नुपर्छ। उहाँले आफ्नो लोकप्रियताको मापन अर्काको चिह्न लिएर गर्ने होइन।’  

नेता बस्नेतले पार्टी एकता भएकै दिनदेखि प्रचण्डले षडयन्त्रको तानाबाना बुनेको आरोप लगाए। एकता हुँदा सबैकुरा सहमतिमा गर्ने भन्ने थियो, उनले अगाडि थपे,‘एकता नटुंगिञ्जेल सहमतिको आधारमा जाने। दुई अध्यक्षबीच एजेण्डामा सहमति गर्ने। प्रतिवेदनमा सहमति गर्ने, निर्णयमा सहमति गर्ने र महाधिवेसनसम्म सहमतिमा टुंग्याउने भन्ने थियो। तर त्यो कुरामा प्रचण्डले धोका दिनुभो।’ सहमति लत्याउँदै प्रचण्डले तत्कालिन एमाले भित्रका नेताहरु माधव नेपाल, झलनाथ खनालहरुलाई च्यापेर पार्टी विभाजन गरेको उनले आरोप लगाए।

नेता बस्नेतले पार्टी विभाजनको असर त्यति धेरै नपर्ने दाबी गरे। अहिले विभाजनको असर माथि ठूला नेता हेर्दा धेरैजस्तो देखिएपनि तल जनतासम्म पुग्दा सामान्य मात्रै देखिएको उनको दाबी छ। विभाजनको असर त्यति गम्भीर पर्छ जस्तो मलाई लाग्दैन, उनले भने‘विभाजनको असर ठ्याक्कै शूलीजस्तो घोप्टो छ, माथि हेर्दा पार्टीमा विभाजन ठूलै भएजस्तो। नेताहरु हेर्दा बराबरीजस्तै देखिन्छ। तर जति तल गयो क्रमशः सानो हुँदै गएको देखिन्छ।’ उनले निर्वाचनमा पार्टीका नेताले नभई जनताले भोट हाल्ने भएकाले विभाजनको असर गम्भीर नहुने उनको विश्लेषण छ। बस्नेतले तत्कालिन माओवादीले साविक १२ प्रतिशत भोट जोगाउनपनि प्रचण्ड–माधव समूहलाई मुश्किल हुने दाबी गरे।

नेता बस्नेतले माधव नेपालले सूर्य चिह्न र वल्खु कार्यालयमा दाबी गर्नु भनेको जारी दाबी गरेजस्तो भएको टिप्पणी गरे। यो पुरानो कल्चर हो,उनले भने,‘उहाँलाई पुरानै श्रीमानकै माया लागेको हो भने फेरि फर्केर आउनु पर्‍यो।’ उनले अहिले ओली नेतृत्वको नेकपालाई छाडेकोमा माधव नेपाल र झलनाथ खनाल पछुताउने बताए। उहाँहरु धेरै पछुताउनु हुन्छ र रातीराती धेरै रुनु भएकोपनि होला, उनले भने,‘ओहो यस्तो घर छोडेर गएँ भन्ने हुन्छ नि त बच्चाले घर छोडेर जाँदा। उहाँहरु रुने र पछुताउने दिनको त शुरुवात मात्रै हो। समय क्रममा यो धेरै हुन्छ।’

नेता बस्नेतले निर्वाचन आयोगले सूर्य चिह्न केपी ओली नेतृत्वकै नेकपालाई दिने दाबी गरे। ‘हामी विश्वस्त छौं र त्यहि हुन्छ। भएन भनेपनि चुनावमा जान्छौं’,उनले भने।

नेता बस्नेतले माधव नेपाल कागतालीले नेता बनेको टिप्पणी गरे। उनले माधव नेपालको राजनीतिक जीवन समाप्ततिर गएको भन्दै उनले भने,‘मधव नेपाल राजनीतिक जीवनको उत्तरार्धमा हुनहुन्छ। उहाँ फेरी जाग्नुहुन्छ। फेरि नेता हुने भन्ने मलाई लाग्दैन।’ माधव नेपालले केपी ओलीलाई गणतन्त्र विरोधी भनेकोप्रति उनले आपत्ति जनाउ। ‘१४ वर्ष जेल बस्ने गणतन्त्र विरोधी र अनि कुरा मिलाएर, सेटिङ मिलाएर बस्ने माधव नेपालचाहिं गणतन्त्र पक्षधर हुन सक्दैन’, उनले भने। 

उनले आन्दोलनका क्रममा वयलगाडा चढेर अमेरिकामा पुगिदैन भनेर ओलीले भनेका कुरालाई अपव्याख्या गरिएको जिकिर गरे। आन्दोलनलाई सशक्त बनाउनुपर्छ भन्ने सन्दर्भमा भनिएका कुरालाई गरेर गणतन्त्र विरोधीको रुपमा परिभाषित गरिएको उनको भनाइ छ।

प्रकाशित: ११ पुस २०७७ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App