५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस जागेकै हो त ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि आन्तरिक किचलोमा अलमलिएको नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्‍यो। जनअपेक्षाअनुसार शक्तिशाली (झन्डै दुई तिहाइ बहुमत) सरकारले कामभन्दा कुरा मात्रै गर्दा जनतामा निराशा बढ्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश बढ्दै गएका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम आन्तरिक विवादमा फसेको छ। विवादलाई कसरी हल गर्ने र साढे दुई वर्षअघिको पार्टी एकतालाई कसरी जोगाउने भन्नेमै नेकपाको ध्यान केन्द्रित छ।

प्रमुख प्रतिपक्षी कांग्रेस पनि ‘मरिच किन चाउरियो आफ्नै पिर’ ले भनेजस्तो बितेको तीन वर्ष व्यक्तिगत र गुटगत लेनदेन र विवादमै रमायो। सरकारका गलत कामको प्रतिवाद गर्ने र उसलाई ठीक ठाउँमा हिँडाउनेभन्दा कांग्रेस औपचारिकतामै सीमित बन्यो। कोरोना भाइरसको उपचार र नियन्त्रणमा सरकारको गैरजिम्मेवारपना, महामारीका बेला खरिद गरिएको औषधि खरिदको भ्रष्टाचार, वाइडबडी, न्यारोबडी जहाज खरिदमा भएको आर्थिक अनियमिताका विषयमा प्रतिपक्षीय आवाज कमजोर बन्यो। जनजीविकाका सवालहरू कांग्रेसको प्राथमिकतामै परेनन्।

सरकारप्रतिको भरोसा गुमाउँदै गएका जनताले प्रतिपक्षीतिर बिस्तारै नजर बढाउँदै लगेका थिए। तर तीन वर्षयता कांग्रेसले पार्टी संगठनलाई न चलायमान बनाउन सक्यो न प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउन। निराशा र आन्तरिक कलहमै सुस्ताएका बेला सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीचको भेटले कांग्रेसलाई प्रतिपक्षी होइन, सत्ता साझेदार दलझैं गरेर हेरिएको थियो।

नेकपा विवादले आगामी निर्वाचनबाट फेरि सत्तामा पुगिन्छ भन्ने मानसिकताबाट कांग्रेस नेता तथा कार्यकर्ता ग्रस्त देखिन्थे। जब पार्टी नेता रामचन्द्र पौडेलमाथि उनकै गृहजिल्ला तनहुँमा स्थानीय प्रशासनले पुल उद्घाटनमा रोक लगाउँदै उनलाई नियन्त्रणमा लियो तब कांग्रेस नेताहरू झस्किए। राज्यका सबै अंगमाथि सरकारको प्रत्यक्ष र अप्रत्यक्ष अनावश्यक प्रभाव बढ्दै गएका बेला विपक्षी आवाजलाई पनि बन्द गरेर सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख हुन थालेको निष्कर्षमा कांग्रेस पुग्यो र कांग्रेस सडकमा आइपुग्यो। सोमबार उसले सरकारका गलत कदमको उजागर गर्दै कांग्रेसले बझाङ र मुस्ताङबाहेक जिल्लामा विरोध प्रदर्शन गर्‍यो। सोमबारको प्रदर्शनमा भएको सहभागिताले कांग्रेसमा उत्साह जगाएको छ। सभापति शेरबहादुर देउवाले त पार्टीलाई नवीन ऊर्जा दिएको बताएका छन्।

के कांग्रेसमा नयाँ जागरण र ऊर्जा आएकै हो त ? प्राध्यापक लोकराज बराल सोमबारको प्रदर्शनले कांग्रेसलाई ‘रिभाइब’ हुने अवसर प्रदान गरेको बताउँछन्। संसद्मा समेत प्रभावकारी भूमिका खेल्न नसकेका बेला, प्रतिपक्षी नेपाली कांग्रेस खोइ भन्ने प्रश्न उठिरहेका बेला पार्टीलाई एकपटक जनमानससम्म पुर्‍याउने काम गरेको बरालको टिप्पणी छ। ‘सरकारको विकृतिविसंगतिले जनतामा निराशा छाएको छ। यस्तो अवस्थामा कांग्रेसले राम्रोसँग काम गर्छ। नेताहरू ठीक ठाउँमा रहन्छन् भन्ने विश्वास र भरोसा दिलाउन सक्नुपर्छ। त्यो काम गर्न कांग्रेसले बाँकी छ,’ उनले भने।

कोरोना भाइरसको नियन्त्रण र उपचारका साथै जनताका दैनिक समस्याको पक्षमा कांग्रेसले आफूलाई खरो रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राख्दै प्राध्यापक बरालले अहिलेको व्यवस्थाविरुद्ध नै प्रहार भइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतासहितका विषयमा अझै स्पष्ट बनाउनुपर्ने औंल्याए।

सडक र संसद्मा सरकारको गलत कामलाई प्रभावकारी रूपमा बाहिर ल्याउनुपर्‍यो। जनताको पक्षमा आफूलाई उभ्याउनुपर्‍यो। पार्टीभत्रको एकतालाई सृदृढ बनाउनुपर्‍यो। विधि र विधानअनुसार पार्टी अघि बढ्नुपर्‍यो। विलम्ब नगरी महाधिवेशन गरेर संगठनलाई चुस्त बनाउनुको साथै जनताका समस्या, आर्थिक विकास र लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै गफ होइन काम गर्छ भन्नेमा जनतालाई आश्वस्त बनाउन अझै आवश्यक छ। पूर्वमन्त्री एवं कांग्रेस नेता होमनाथ दाहालले सोमबारको एउटै घटनाले कांग्रेसमा जागरण आयो भन्ने निष्कर्षमा पुग्न नसकिने बताउँछन्।

‘कोरोना महामारीकाबीचमा सोमबारको प्रदर्शनमा देशभरि देखिएको उपस्थिति सुखद छ,’ दाहाल भन्छन्, ‘यसले संसदीय शासन व्यवस्थाप्रति जनताको आकर्षण देखिएको छ। यसलाई मर्यादित र व्यवस्थित बनाउँदै अहिले देखिएको समस्या समाधानमा कांग्रेसले आफूलाई उभ्याउनुपर्छ।’

सरकारको अक्षमताले आम जनताले एकपटक फेरि कांग्रेसतिर नजार फर्काए पनि सोमबारकै विरोध प्रदर्शनले कांग्रेसको पक्षमा जनमत देखियो भन्ने होइन। सरकारप्रतिको आक्रोश बढ्दै जाँदा कांग्रेसप्रति भरोसा बढे पनि आगामी दिनमा उसले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनेछ। ‘पार्टीका नेता तथा कार्यकर्तामा अहिलेको सरकारले अति नै गर्‍यो अब यसरी हुँदैन भन्ने मानसिकतामा पुगेको देखिन्छ,’ धादिङका कांग्रेस नेता नारायणकुमार श्रेष्ठले भने, ‘अरूको कुरा गरेर मात्र हुँदैन। हामीले के गर्ने ? कसरी जाने भन्ने स्पष्ट कुरा लिएर जनतामा जानुपर्छ।’

सत्तारूढ नेकपामा जस्तै कांग्रेसमा पनि आन्तरिक कहल र विवाद जारी रहेको, जनतासँग टुटेको सम्बन्ध अझै स्थापित हुन नसकेको, पार्टी विधि र विधानअनुसार सञ्चालन हुन नसकेको आरोप र असन्तुष्टि कायमै छ। त्यसप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘कांग्रेसप्रति जनताको आकर्षण नभएको होइन, छ तर त्यसअनुसार पार्टीमा जागरण आउन पहिला आफैं व्यवस्थित हुनुपर्छ।’

चार वर्षभित्र हुनुपर्ने पार्टीको महाधिवेशन पाँच वर्ष हुन लाग्दा पनि कहिले हुन्छ भन्ने निश्चित छैन। महाधिवेशनको पूर्वतयारीका रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरण सुरु भएको छ। तर पार्टी केन्द्रीय समितिले पटकपटक बढाएको समय अवधिअनुसार मंगलबारसम्म सदस्यता फाराम केन्द्रीय कार्यालय पठाइसक्न निर्देशन दिइएको छ। अर्घाखाँचीबाट फारम आएको छ भने लमजुङ र पाँचथरले पठाउने तयारी गरेका छन्। बारा, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकले विवादका कारण अहिलेसम्म फारम नै लगेका छैनन्। गठन भएका पार्टीका विभागहरूले काम गर्ने होइन, त्यसको वैधानिकताको विषयमा विवाद जारी छ। दुई वर्षअघि विघटन गरिएका संसदीय र कार्यसम्पाद समिति अझै गठन हुन सकेका छैनन्। असोज १२ मा २७ केन्द्रीय सदस्यले अघि सारेका १६ बुँदे विषय अझै कांग्रेसले टुंगो लगाउन सकेको छैन। पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरू भताभुंग अवस्थामा छन्।

‘अहिलेको सरकार अनैतिक छ, गैरजिम्मेवार छ, भ्रष्ट छ भनेर अब हामीले बुझाउनुपर्दैन, जनताले बुझिकेका छन्,’ ओखलढुंगा कांग्रेस नेता लीलावल्लभ दाहालले भने, ‘अरू अनैतिकभन्दा आफू नैतिकवान् हुनुपर्‍यो।

प्रकाशित: १ पुस २०७७ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App