२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश सभाले आफ्नो पहिचान स्थापित गर्नुपर्छः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रदेश सभालाई आफ्नो पहिचान स्थापित गर्ने चुनौती रहेको बताएका छन्।  

संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा बोल्दै सभामुख सापकोटाले नेपालमा प्रदेश सभा पहिलो पटक शुरु भएकोले यसलाई स्थापित गर्ने चुनौती रहेको बताएका हुन्। उनले चुनौती भन्दा अवसर बढी रहेकोमा जोड दिए।  

संघीयताको विरोधमा उठिरहेका आवाजहरुप्रति इंगित गर्दै सभामुख सापकोटाले भने,‘कतै कतै नियोजित रुपमा प्रदेश सरकार र प्रदेश सभा आवश्यक छ र भन्ने विषय उठ्न खोजेका छन्, हामीले त्यस्ता चुनौतीलाई राम्रो कामबाट जवाफ दिँदै प्रदेश सभाको पहिचान दिनुपर्दछ।’

‘सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष कति तटस्थ, कति निष्पक्ष हुन सक्छौं? हाम्रो तागत त्यसैमा छ। हामी निष्पक्ष र तटस्थ भएर काम गर्न सक्यौं भने हाम्रो सफलता त्यहीँ देखिन्छ,’ सभामुख सापकोटाले भने।  

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउँदै व्यवहारिक कानुन बनाउनुपर्नेमा जोड दिए। उनले भने,‘कानुनका छिद्रमा खेलेर अपराधीहरु उम्कने अवस्था छ। त्यसैले कानुन निर्माण गर्दा जनमुखी र व्यवहारिक बनाउनुपर्दछ।’  

कानुन निर्माणमा आम जनतालाई कसरी सहभागी बनाउन सकिन्छ भन्नेमा सचेत हुनुपर्ने भन्दै उनले सञ्चार जगतले नागरिकलाई सुसूचित गरेर महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

प्रदेशसँग सरोकार राख्ने ऐन कानुनहरु चाँडो पारित गर्न संघीय संसद्को तर्फबाट आफूले पहलकदमी बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभामुख सापकोटाले स्थानीय तहको अभिभावकको रुपमा प्रदेशले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

विधेयकहरु चाँडो पारित गर्न खोज्दा यसको गुणस्तरीयतामा प्रश्न उठ्नसक्ने भन्दै सभामुख सापकोटाले विधेयक गुणस्तरीय बनाउन र त्यसमा कसैको स्वार्थ नघुसोस भन्नेमा सचेत हुनुपर्ने बताए।  

संसदीय समितिहरुलाई जति सक्रिय बनाउन सक्यो त्यति नै सन्तुलीत कानुन बन्ने सभामुखको धारणा छ। संघीय संसद भवनमा आयोजना गरिएको यस कार्यक्रमले संघीय संसद र प्रदेश सभा सञ्चालनका लागि आधार तयार गरेको सभामुख सापकोटाको भनाई छ। उनले संसदलाई जीवन्त र गतिशील बनाउ सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नु पर्नेमा जोड दिए।

प्रकाशित: १३ मंसिर २०७७ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App