५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन तहका सरकार एकैठाउँ बसेर समिक्षा गर्न पालिकास्तरीय भ्रमण: मन्त्री भट्टराई

फुङ्लिङस्थित भानु माविमा पर्वतारोहण सम्बन्धी कक्षा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराई । तस्बिर : नागरिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले तीन तहका सरकार र सदनका प्रतिनिधि एकै ठाउँमा बसेर विकास निर्माणका अवस्थाको समिक्षा गर्न आफूले पालिका स्तरीय भ्रमण गरेको बताएका छन्। यो कार्यले तीन तह बीचको कार्यगत एकता, योजनाको समिक्षा र नागरिकको अपेक्षा अनुसारको नयाँ योजना छनौटमा बल पुग्ने उनले बताए। ७ दिन लामो गाउँपालिका स्तरीय भ्रमण सकेर सदरमुकाम फुङ्लिङ केन्द्रित भएका उनले तीन तहका सरकार बीच विकास निर्माणमा हुने कार्यगत एकताले नयाँ आयाम सृजना गर्ने बिश्वास लिए।  

मन्त्री भट्टराईले तीनै तहका सरकार बीचको कार्यगत एकताले संघीयता कार्यान्वयनमा समेत बल पुग्ने बताए। संघीयताको सवालमा आफूहरु भर्खर सिक्ने क्रममा रहेको भन्दै उनले अहिलेको अवस्थालाई बल्ल खेतमा बीउ रोप्ने तहको भएको चित्रण गरे। ‘बीउ रोप्नु छ, गोडमेल गर्नु छ, मलजल गर्नु छ, हुर्काउनु र यसलाई संस्थागत गर्दै लैजानु छ’ उनले भने। स्थानीय सरकार प्रति लक्षित गर्दै मन्त्री भट्टराईले संघीयताले तीन तहका सरकारको परिकल्पना गरे अनुरुप अहिले जनताले आफ्नै क्षेत्रमा आफैं सरकार सञ्चालन गरिरहेको बताए।  

हरेक सरकार आ–आफ्नो कार्य सम्पादनमा स्वायत्त रहेपनि योजना सञ्चालन, विकास निर्माण र जनताका आधारभूत आवश्यकताको सम्बोधनमा एकठाउँमा उभिन सक्नुपर्ने उनको जोड थियो। मन्त्री भट्टराईले तीन तहका सरकार बीचको कार्यगत एकताले जनताले विकासमा नयाँ आयाम प्राप्त गर्ने बताए। तीनै तहका सरकार बीचको कार्यगत एकताको अर्थ प्रष्ट्याउँदै उनले स्थानीय सरकारले जग्गा उपलब्ध गराए केन्द्रीय वा प्रादेशिक सरकारले अस्पताल बनाउने उद्घोष गरे। संघीय सरकारले स्थानीय तहमै अस्पताल बनाउन बजेटको व्यवस्था गरिसकेको बताउँदै उनले अब जग्गा खोज्ने सहितका आधारभूत कार्य गर्ने दायित्व स्थानीय सरकारको भएको बताए।  

जिल्ला सदरमुकामबाट प्रत्येक गाउँपालिका जोड्ने सडक आगामी दुई वर्षभित्र पूरा गर्ने सरकारको योजना रहेकोले यस कार्यमा पनि तीनै तहका सरकारबीच कार्यगत एकता अनिवार्य रहेको उनको भनाइ थियो। फक्ताङ्लुङ गाउँपालिकाबाट यात्रा आरम्भ गरेका उनले मिक्वाखोला, मेरिङ्देन, मैवाखोला र आठराइ त्रिबेणीको यात्रा पूरा गरेका छन्। बिहीबार उनको फुङ्लिङ नगरपालिका स्तरीय कार्यक्रम रहेको छ। पालिका भ्रमणका क्रममा मन्त्री भट्टराईले विकास निर्माणको अवस्था, जनताका माग र आवश्यकता, मतदाताको राय तथा सुझाव र स्थानीय समुदायको माग टिपोट गरेका छन्।  

जिल्लाबाट निर्वाचित प्रदेशसभाका सांसद समेत संगै लिएर गएका उनले यहिँ बेला संघीयतामा कार्यान्वयनमा तीन तहका सरकारको भूमिका र दायित्व बारे नागरिकलाइ पनि बुझाउने प्रयास गरेका छन्। प्रदेशसभाको दुई र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ मन्त्री भट्टराईको गृह जिल्ला तथा प्रतिनिधिसभामा निर्वाचित भएको जिल्ला पनि हो। पहिलो चरणमा नगरपालिका सहित ६ पालिकाको भ्रमण गरेका उनले तिहार पछिको समय भ्रमण गर्न बाँकी रहेका सिदिङ्वा, सिरिजङ्जा र पाथीभरा याङ्वरकका जनताका लागि छुट्याएका छन्।

प्रकाशित: २७ कार्तिक २०७७ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App