१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल-चीन बीच सीमामा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

रसुवागढी नाकाको अवस्थाको बारे परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराउँदै रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्का । तस्बिरःहिमनाथ/नागरिक

नेपाल चीन बीच रहेका सीमाहरूमा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा आएका उनले भारतसँग जोडिएका सीमामा केही समस्या रहेतापनि चीनसँगको नाकामा समस्या नरहेको बताएका हुन्।  

नेपाल भारत सीमा अनुगमन समिति र नेपाल चीन सीमा अनुगमन समिति बनाएर सीमाको अध्ययन प्रक्रिया अघि बढाएकोमा नेपाल भारतबीचको सीमाको अध्ययन सकिएको छ। नेपाल र भारत बीचको सीमाको अध्ययन सकिएपश्चात व्यवस्थित ढंगले प्रतिवदेन तयारी पारिएको उनको भनाइ छ। अध्ययन अनुसार दुई देश बीच रहेका सीमामा केही समस्या देखिएको छ।  

यसैगरी कोभिड–१९ र मौसमको प्रतिकुलताको कारण चीनसँगको सीमा अनुगमनको काम हुन नसकेको उनले बताए। नेपाल चीन बीच भएका सीमा स्तम्भमा कोर्डिनेट राखिएकाले भत्काउने र सार्ने सम्भावना नरहेकाले पनि सीमा समस्या नभएको उनको भनाइ छ।  

चीनसँगका सीमा स्तम्भ दुर्गम र हाइ अल्टिच्युडमा रहेका कारण तिरन्तर अनुगमन गर्न पर्ने उनको भनाइ थियो। यसका लागि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई सीमा सम्बन्धी जानकारी अद्यावधिक गराउनका लागि कार्ययोजना बनाएको छ।  

यसै बीच मन्त्री ज्ञवालीले रसुवागढी नाकालाई सामान्य व्यापारिक नाकाको रूपमा मात्र नलिएको बताएका छन्। केरुङ काठमाडौं रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन निर्माण, उत्तर दक्षिण आर्थिक करिडोर निर्माण, क्रस बोर्डर इकोनोमिक जोन निर्माण लगायतका विषय सरकारको प्राथमिकतामा परेको छ। रसुवागढी काठमाडौं सडक मार्गलाई बाह्रै महिना सञ्चालन हुने बनाउनका लागि काम भइरहेको छ। भने स्याफ्रु बेत्रावती सुरुङ मार्गको अध्ययन कार्य अघि बढाइएको छ।  

कोभिड–१९ का कारण चीनबाट स्थलमार्ग हुँदै हुने आयातमा केही समस्या रहेको र त्यसको समाधानका लागि चीन सरकारसँग निरन्तर वार्ता भइरहेको उनले बताए। ‘हामीले दुई देश बीचको व्यापारका लागि उच्च स्तरमा वार्ता गरिरहेका छौं’, उनले भने, ‘विस्तारै समस्याको समाधान हुँदै जाने छ।’ जिल्लामा नै पिसिआर जाँच गर्नका लागि प्रक्रिया अघि बढिसकेकाले पिसिआरका कारण नाकामा आयात बन्द हुने अवस्था नआउने उनको भनाइ छ।  

सडकको अवस्था र सामाग्री लोड अनलोडमा लाग्ने समय अनुसार सामग्री आयात बढाउनका लागि स्थानीय रूपमा छलफल गर्न उनले आग्रह गरे। यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना, जिल्लामा नै आरटिपिसिआर गराउने र तीन सिफ्ट बनाएर सामग्री आयातको व्यवस्था मिलाउन सकिने छ। यी कारणले नै सामग्री आयात रोक्न पर्ने अवस्था आउन नदिन उनले आग्रह गरे।  

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले नाकामा आयात व्यवस्थापन, पारी रोकिएका नेपाली सवारी नेपाल ल्याउने व्यवस्था मिलाउन पर्ने र उता रोकिएका नेपालीलाई ल्याउनका लागि माथिल्लो निकायबाट पहल गर्नुपर्ने बताए।  

रसुवा भन्सारले मूल्य कम तथा गलत घोषणा गर्नेलाई निरुत्साहित गर्ने कामलाई प्राथमिकता दिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।  

परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारले निर्माण गर्न लागेको स्याफ्रुबेसीं–रसुवागढी सडक खण्ड, निर्माणाधीन एकीकृत भन्सार तथा सुख्खा बन्दरगाहको अवलोकन गरेका छन्। साथै उनले शुक्रबार स्तरोन्नतीको चरणमा रहेको मैलुङ–स्याफ्रुबेसी सडकको अवलोकन गर्ने छन्।

प्रकाशित: २३ आश्विन २०७७ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App