१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले सडक र सदन तताउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी थालेको छ। उसले असोज १९ देखि सुरु हुने केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने भएको हो।

नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका विषयमा सभापति शेरबहादुर देउवाले बुधबार बिहान आफ्नै निवास निकटहरूसँग छलफल गर्दै सडक र सदन तताउने बताएका हुन्। आन्दोलनका स्वरुपका साथै पौडेल पक्षले दर्ता गराएको विरोधपत्रका विषयमा सभापति देउवाले उनीहरूसँग शनिबार छलफल गर्ने भएका छन्।

नेता पौडेलसहितले उठाएका विषयमा औपचारिक र अनौपचारिक छलफल गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केही विषयलाई स्पष्ट बनाउने र अविश्वासको वातावरण निर्माण भएको छ। त्यसलाई हटाउने छौं।’

सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।

पौडेल पक्षले भने पार्टीको १४औं महाधिवेशन स्वच्छ, निस्पक्ष हुनेमा आशंका व्यक्ति गर्दै उनीहरूले महाधिवेशनको मिति घोषणापछि गरिएको नियुक्ति, विभाग गठन र विस्तार विधानसंवत् नदेखिएको भन्दै उनीहरूले त्यसलाई खारेज गर्न माग गरेका छन्। आफूहरूले उठाएका मागहरुमा गम्भीरता र तदारुकता नदेखाए वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने पनि विरोधपत्रमा उल्लेख गरिएको छ। ‘पार्टी विधान, आचारसंहिता तथा सभापतिज्यूले स्थापित गर्नुभएको परम्परालाई स्वयंले स्मरण र आत्मसात गर्नु जरुरी छ,’ उनीहरूले भनेका छन्, ‘सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।’

असोज १९ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा देशव्यापी आन्दोलनका कार्यक्रम गर्ने र संसदीय दलको बैठक बोलाएर संसद्को विषेश अधिवेशन माग गर्ने पनि महतले जानकारी दिए। ‘देशमा भ्रष्टाचार बढ्यो। सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा कुनै व्यवस्थापन गर्ने सकेन,’ महतले भने, ‘जनताका पिरमर्का र जनजीविकाको सवाल सरकार गैरजिम्मेवार देखियो त्यसविरुद्ध संसद्को विषेश अधिवेशन माग गर्ने र केन्द्रीय समितिलगत्तै देशव्यापी सडक संघर्षमा कार्यक्रम अघि बढाउने छौं।’

महाधिवेशनको पूर्व सन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली संगठनले मत्र सरकारको गलत क्रियाकलापप्रति खबरदारी गर्न सकिने पौडेल पक्षले जनाएका छन्। त्यसका लागि संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने जनाउँदै विरोधपत्रमा भनिएको छ, ‘यसको बदला अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरणको स्थिति निम्तिनु पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायाँमा पर्ने काम भइरहेको आभास हुनु दुर्भाग्यपूर्ण छ।’

प्रकाशित: १५ आश्विन २०७७ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App