१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'जनताको मुहार फेर्ने स्थानीय तह'

कास्कीको चौथो जिल्ला सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशप्रमुख अमिक शेरचन। तस्बिर: नागरिक

गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले जनताको मुहार फेर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै प्रदेशप्रमुख शेरचनले संघीयताको मूल मर्मअनुसार जनताको मुहार फेर्ने जिम्मेवारी पनि स्थानीय तहकै भएको बताएका हुन्।

‘जनतासँग सधैं जोडिने भनेको स्थानीय तह हो,’ उनले भने, ‘उनीहरूको समस्यादेखि समाधान पनि स्थानीय तहलाई नै थाहा हुन्छ। त्यसैले उनीहरूको मुहार फेर्न स्थानीय तहकै भूमिका महत्वपूर्ण हुन्छ।’ प्रदेश प्रमुख शेरचनले संघीय प्रणालीको मूल आधार भने पनि मेरुदण्ड भने पनि स्थानीय तह भएको बताए। त्यसैले देशको विकास र समृद्धिका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्न दुई कुरा अनिवार्य पालना गर्नुपर्ने भन्दै उनले भने, ‘पहिलो भनेको भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्य गर्नुपर्छ अनि दोस्रोमा राष्ट्रिय उद्योगको स्थापना।’ राष्ट्रिय उद्योग नाम मात्रको नभई स्वदेशी कच्चा पदार्थको उपयोग गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए।

प्रदेशप्रमुख शेरचनले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई व्यक्तिगत स्वार्थ र महŒवाकांक्षाभन्दा माथि उठेर देश र जनताका लागि काम गर्न आग्रह गरे। ‘तपाईंको सिंगो जीवन बाँकी छ, ‘उनले भने, ‘अहिले व्यक्तिगत स्वार्थ र महŒवकांक्षामा नरुमल्लिनुस्। अहिले जनताका लागि गर्नुस्, भोलि तपाईंलाई खोज्दै आउँछन्।’

उनले देशलाई अप्ठेरोमा पार्ने प्रयास अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको बताए। तर उनले कुन देश वा समुदायबाट त्यस्तो प्रयास भइरहेको हो भन्नेबारे खुलाएनन्। उनले भने, ‘राष्ट्रियता बडो अप्ठेरो अवस्थामा छ, राष्ट्रलाई खुम्च्याउने र स्वाभिमानलाई गिराउने प्रपञ्च भइरहेको छ, त्यसैले तपार्ईं युवाहरू चनाखो हुनुस् र बलिदानका लागि तयार हुनुस्।’ प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको सपना पूरा गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सौहार्द आवश्यक रहेकोमा जोड दिइन्।

पालिकाहरूको तर्फबाट बोल्दै माछापुच्छ्रे गाउँपालिकाप्रमुख कर्णबहादुर गुरुङले कोभिडका बाबजुद पनि स्थानीय तहले उल्लेख्य कार्य गरिरहेको बताए। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनतासँग सामीप्य हुँदै जनताको मन जित्ने गरी काम गर्न स्थानीय तहहरूलाई सुझाव दिए।

पूर्व जिल्ला उपसभापति श्रीनाथ बरालले प्रदेशको राजधानी पोखरामा बसपार्कको अभाव खड्किएको बताउँदै चाँडोभन्दा चाँडो महानगर र प्रदेश स्तरीय छुट्टाछुट्टै बसपार्क बनाउन सुझाव दिए। कोरोना भाइरस (कोभिड–१९) जोखिमबीच सामाजिक दूरी कायम गरी भएको कार्यक्रममा कास्कीका पोखरा महानगरपालिका र ४ वटा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतले हालसम्मको कार्यप्रगति विवरण पेस गरेका थिए।

प्रकाशित: १३ आश्विन २०७७ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App