२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटार–खुमलटार दूरी बढ्दै

कोरोना बहानामा संवादहीनता, सामाजिक सञ्जालमा घोचपेच सुरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र बनेको आन्तरिक विवाद कोरोना भाइरसको बढ्दो संक्रमणसँगै फेरि केही दिनका लागि थाती रहने भएको छ। काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै शीर्ष नेताले आपसमा भेटघाट बन्द गरेर संक्रमण बढ्न नदिने रणनीति लिएसँगै आन्तरिक विवाद केही दिनका लागि थाती राखिएको हो।

अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसहितका नेताहरू कोरोना भाइरसको परीक्षणमा जुटेका छन्। दाहालसहित उनका परिवारले बिहीबार नै कोरोना परीक्षण गराइसकेका छन्। काठमाडौं उपत्यकाभित्र समुदायमै संक्रमण फैलिन थालेपछि नेताहरूले आन्तरिक भेटघाट पनि बन्द गरेका छन्। ‘हामीले केही दिनका लागि भेटघाट बन्द गरेका छौं,’ अध्यक्ष दाहालको सचिवालय सम्बद्ध स्रोतले भन्यो।

वरिष्ठ नेता झलनाथ खनाल निवासमा पनि भेटघाटमा रोक लगाइएका छन् भने वरिष्ठ नेता माधव नेपालले केही दिनका लागि भेटघाट स्थगित गरेका छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो निवासमा केही दिनलाई भेटघाट रोकेका छन्। जोखिम बढ्दै गएपछि आन्तरिक भेटघाट बन्द गरेसँगै नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि पनि तत्काल संवाद हुने सम्भावना कम रहेको स्रोतको दाबी छ। ‘प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले विवाद समाधानभन्दा पनि बहाना खोजिरहेका बेला बढ्दो संक्रमणले बालुवाटार र इतर (खुमलटार) बीचको दूरी थप बढ्ने देखिएको छ,’ नेकपाका एक नेताले भने, ‘विवाद सकियो भन्ने होइन, केही समयका लागि कोरोनाका कारण स्थगित जस्तो हुने भएको छ।’

प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि चाहेमा अहिले पनि वार्ता हुनसक्ने दाबी गर्दै उनले भने, ‘उहाँहरूमा संक्रमण नभएको पुष्टि भएपछि छलफल गर्न सकिन्थ्यो तर तत्काल सम्भावना देखिएन।’ असार १० गते सुरु स्थायी कमिटी बैठक लगातार स्थगित भएर अहिलेसम्म बस्न सकेको छैन। बिहीबार बिहान बालुवाटारको सन्देश बोकेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ खुमलटार पुगे पनि दाहालले आफूहरू कुनै पनि मानेमा लचक नहुने, सुधार गर्नुपर्ने भए उतै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए। स्थायी कमिटीको बैठकमा उठेको विवाद सचिवालय बैठकबाट समाधान गर्नुपर्ने अडान ओली पक्षले राख्दै आएको छ भने दाहाल पक्षले विवाद समाधानको उपाय स्थायी कमिटीमै भएको दोहो¥याइरहेको छ। सचिवालय सदस्यमध्ये वामदेव गौतमले सहमतिको मार्गचित्र भन्दै ६ बुँदे प्रस्ताव अघि सारेर ओली पक्षमा उभिएपछि ओली पक्षले सचिवालय बैठकमा जोड दिएको हो। यद्यपि गौतमले शुक्रबार पनि प्रेस नोट जारी गर्दै आफू कुनै पनि गुटमा नरहेको जनाएका छन्। उनले नेकपामा तीनवटा विचार समूह बनेको र आफू कुनै पनि विचार समूहमा नरहेको बताएका छन्।  

साउन १३ गतेपछि स्थायी कमिटी बैठक बस्ने कि नबस्ने भन्नेबारेमा विवाद उत्पन्न हुँदा ओली पक्षले बैठक स्थगित गरेको र दाहाल पक्षले बालुवाटारमै बैठक सञ्चालन गरेको थियो। त्यसपछि दुवै अध्यक्षबीच लगातार तीन दिनसम्म खनाल र नेम्बाङलाई साथमै राखेर छलफल भए पनि निकास निस्केन। बुधबार दाहालसहित चार नेताले केही सञ्चारकर्मीसँग नेकपा विवादबारे छलफल गरेका थिए। बुधबार साँझ दुई अध्यक्षबीच हुने भनिएको बैठक भने स्थगित हुन पुग्यो। त्यसपछि दुई अध्यक्षबीच टेलिफोन कुराकानीसमेत नभएको दाहालको सचिवालय स्रोतले भन्यो।  

दाहाल पक्षले पार्टीभित्रको विवाद पदका लागि होइन भन्दै आएको छ।  सञ्चारकर्मीसँगको कुराकानीमा पनि यही दोहो¥याइएको थियो। सोही विषयमा थप प्रस्ट पार्ने भन्दै दाहाल समूहले शुक्रबार सम्पादकहरूलाई समेत बोलाएको थियो। तर कोरोना संक्रमण बढेको र नेताहरू सबैको स्वाब संकलन भएका कारण उनीहरूले सम्पादकहरूसँगको भेटघाटलाई रोकेका थिए।  

दाहाल पक्षले सम्पादकहरूसँग भेटघाट राखेको थाहा पाएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नेकपाको प्रवक्ता पदको गरिमा राख्न आग्रह गरेका थिए। नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा श्रेष्ठ दाहाल र नेपालसँगै रहेर ओलीले प्रवृत्ति सुधार गर्नुपर्ने भन्दै आएका छन्। श्रेष्ठले पटकपटक सैद्धान्तिक प्रवृत्तिगत लडाइँ रहेको भन्दै टिप्पणी गरिरहेका बेला प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले गुटबन्दीमा नलाग्न आग्रह गरेका हुन्। 

रिमालले प्रवक्ता श्रेष्ठलाई ट्विटरमा मेन्सन गर्दै विधि र पद्धतिको नक्कली गीत गाई नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका थिए। ‘इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ, महसुस होस्,’ रिमालले ट्विटरमा लेखेका छन्।

प्रकाशित: २४ श्रावण २०७७ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App