८ वैशाख २०८१ शनिबार
राजनीति

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’

सांसदहरूले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले  त्यस्ता गलत कामले रोग संक्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरेका छन्। उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए ।  

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरूको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  चक्रप्रसाद स्नेहीले कोभिड–१९ संक्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन्। उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । सोही पार्टीका डा विमला पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन, शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरिन्।  

नेपाली काँग्रेसका अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरे । उक्त घटनामा सांसदसमेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहार्याउनसमेत आग्रह गरे । सोही पार्टीका तारादेवी भट्टले कोभिड–१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याए । चुरेको दोहन रोक्न गम्भिर कदम चाल्नसमेत उनले सरकरालाई आग्रह गरे ।  

जनता समावादी पार्टीका प्रमिलाकुमारीले नागरिकतासम्बन्धीको विधेयकमा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरी विधेयक आएकोमा आपत्ति जनाए । उनले महिला, यौनिक र अल्पसंख्याक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाकोे विभेदकारी नीति प्रष्ट भएको जिकिर गरे ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापनं विधेयक, २०७५) का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए । अर्को बैठक यही असार १५ गते अपराह्न १ बजे बस्ने छ । रासस

प्रकाशित: ११ असार २०७७ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App