७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आर्थिक विधेयकमाथि सांसदहरुको टिप्पणीः ‘अग्लोमा थप्ने र खाल्टोबाट झिक्ने?’

प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको ‘आर्थिक विधेयक २०७७’ले नागरिकमाथि असमान व्यवहार गरेको बताएका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ‘आर्थिक विधेयक २०७७’ले ठूला उद्योगी व्यापारीले अर्बौं छुट दिएको र गरिब मजदुर किसानहरुलाई महँगीमा पारेको बताए। 

उनले बजेट पूँजीवादी दर्शनमा आधारित भएर आएको र निर्माण र विकासको काम ठेक्कामा दिएर कमिसन खान खोजिएकोले आफूले संशोधन प्रस्ताव पेस गरेको बताए। प्रस्तावनामा कर घटाउने र छुट दिने शब्दको सट्टा गरिबलाई कर छुट दिई अन्यलाई सम्पत्ति अनुसार कर लगाइने शब्दहरु राख्नुपर्ने बताए।

उनले विद्युतिय सवारीसाधनमा लगाइएको महसुलमा नागरिकको विरोध रहेकाले त्यस्तो कर हटाउने र नेपालका इन्जिनियरिङ क्याम्पसहरुलाई सहयोग गरी विद्युतीय गाडि र इन्डक्सन चुल्हो बनाउने योजना विधेयकमा आउनुपर्ने बताए।

 उनले विधेयकले अग्लोमा थप्ने र खाल्टोमा झिक्ने खालको करनीतिलाई अवलम्बन गरेकोले यसलाई संशोधन आवस्यक रहेको बताए। उनले भने, ‘आर्थिक विधेयक हेर्दाखेरी अग्लोमा थप्ने र खाल्टोमा झिक्ने जनविरोधि करनीतिलाई निरन्तरता दिएको छ। यो आर्थिक विधेयक फिर्ता हुनु आवस्यक छ र यसलो सरकारको औचित्यतामाथि नै प्रश्न उठाएको छ।’

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले करको मान्यता विपरीत फर्निचरका उत्पादनहरुमा अन्तशुल्क लगाइएको बताए। यस्तै नागरिकले उपभोग गर्ने वस्तुहरुमा मूल्य अभिवृद्धि कर हटाउने गरी आर्थिक विधेयक संशोधन गर्नुपर्ने बताए। जनतालाई राहत दिन हाल कायम रहेको १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्ने उनले बताए।

 उनले न्यून आय भएका कर्मचारीको खरिद क्षमता घटेकाले आयकर हटाउनुपर्ने माग गरे। उनले भने, ‘आज कर्मचारीहरु सबैको विभिन्न आय भत्ता सबै घटाइदिएको छ। सरकारी कर्मचारीको आय घटेपछि स्वतः निजी क्षेत्रका कर्मचारीहरुको आय पनि घट्न जान्छ। अहिलेको जुन परिस्थिति छ त्यसले गर्दा सबै कर्मचारीहरुको खरिद गर्न सक्ने क्षमता पनि घट्दै गइरहेको छ। तसर्थ थ्रेस होल्ड छ साढे चार लाखसम्म आयकर नलाग्ने व्यवस्था होस भन्ने मैले आफ्नो संशोधन प्रस्ताव राखेको छु।’

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले राजश्वको अनुमान यथार्थपरक नभएको बताए। उनले कुनै आधार बिना राजश्व संकलनको अनुमान गरिएको बताए। गत वर्षको बजेटबाट नसप्रेको अर्थमन्त्रालयले कसरी मुलुकको कठिनाइमा काम गर्न सक्छ आफुले बुझ्न नसकेको बताए। उनले भने, ‘पोहोर साल यस्तै ग¥यो हामीले भन्यौं बजेटको अनुसूची एक ठिक भएन दुई ठिक भएन अनि करेक्सनहरु दियौं। करेक्सन सबै दिएपछि सरकारले पछि अर्को बजेट प्रस्तुत ग-यो। 

अघिल्लो वर्ष जसरी अर्थमन्त्रालय देखिएको थियो एउटा बजेटको किताबबाट अर्को बजेटकको किताबसम्म पुग्नुपरेको थियो यो पालि त झन सप्रिने बटो छैन अर्थमन्त्रालयको। यसरी नसप्रेको अर्थमन्त्रालयले कसरी मुलुकको यो कठिनाईमा अर्थमन्त्रीलाई मद्यतगर्न सक्छ मैले बुझ्न सकिरहेको छैन्।’

प्रकाशित: ३२ जेष्ठ २०७७ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App