१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध निरन्तर प्रदर्शन

सरकारको कार्यशैली र जिम्मेवारीबोधमाथि प्रश्न उठाउँदै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न भागमा प्रदर्शन गरिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, पारदर्शी खर्च विवरण देखाउनुपर्ने लगायत माग राखेर युवाले चार पाँंच दिनदेखि सडकमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शनमा सहभागी युवाले बोकेका प्लेकार्ड र पम्प्लेट रचनात्मक देखिन्थे। कोहीले हातमा फूलसमेत बोकेर आएको देखिन्थ्यो। ‘हामी यहाँ अराजकता देखाउन आएका होइनौं। हामीले शान्तिपूर्ण तरिकाले माग राख्छौं। सरकारले पनि शान्तिपूर्ण तरिकाले नै माग सम्बोधन गरोस् भन्ने हाी चाहन्छौं,’ प्रदर्शनकारी काठमाडौं ताहाचलका राजन बज्राचार्यले भने।  

सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि पोख्दै पाँच दिनयता युवाले देशका विभिन्न सहरमा प्रदर्शन गर्दै आइरहेका छन्। तर सरकारले उनीहरूको असन्तुष्टि सुनेको छैन।  

प्रहरीका अनुसार शनिबार धरान, सर्लाही, पोखरा, विराटनगर, धुलिखेललगायत सहरमा युवाले सरकारविरुद्ध प्रदर्शन गरे। उनीहरुले प्रहरी र स्वास्थ्यकर्मीको तारिफसँगै सरकारको विरोध गरेका थिए। प्रदर्शनकारीका लागि सधैं बाधक भनेर हेरिने प्रहरीले पछिल्ला प्रदर्शनमा आक्रामक स्वभाव प्रस्तुत गरेको छैन। त्यसो त प्रदर्शनकारीले पनि प्रदर्शनका क्रममा सभ्यता देखाएका छन्।  

बिनातडकभडक गरिएको प्रदर्शनलाई निकै रचनात्मक मानिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले पछिल्लो समय युवाले गरेको प्रदर्शन त्यति अराजक नभएको बताए। उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले पनि सहज व्यवहार देखाएको बताए। ‘यो प्रदर्शन गर्ने समय त होइन तर प्रदर्शन त्यति अराजकचाहिँ भएको छैन,’ उनले भने।

सडकमा राष्ट्रिय गान

‘प्रहरी हाम्रो मामा हो, मामाले भान्जालाई कुट्दैन’ शुक्रबार प्रदर्शनका क्रममा बालुवाटारमा भेला भएका युवाको मुखबाट यस्तो वाक्य गुन्जियो। प्रहरीप्रति लक्षित यो वाक्य भीडलाई नियन्त्रणमा लिन तम्तयार भएका प्रहरीले निकै चासो मानेर सुनिरहे। प्रदर्शनकारी जत्तिकै संख्यामा तैनाथ प्रहरीहरु युवाको आवाजलाई ध्यान दिइरहेका थिए।  

प्रदर्शन गर्दैगर्दा दुई युवाले राष्ट्रिय गानका लागि तयारी हुन सबैलाई अपिल गर्दै माइकिङ गरे। प्रदर्शनकारी युवा प्लेकार्ड बोकेर सडकमा बसिरहेका थिए। कोही सडकको किनारमा उभिएका थिए। माइतीघरको बगैँचा र सडकमा लहरै प्रहरी थिए। त्यहाँ काठमाडौं परिसरका प्रहरी प्रमुुख एसएसपी श्यामलाल ज्ञवाली र एसपी सोमेन्द्र राठौर पनि थिए। जब राष्ट्रियगान युवाको मुखबाट गुन्जन थाल्योे, केही प्रहरीले पनि त्यसको उच्च कदर गरे। सडकमा पंक्तिबद्घ भएर बसेका प्रहरीले राष्ट्रिय गानप्रति सलाम टक्र्याए। यो दृश्यले सबैको ध्यान खिच्यो।  

प्रदर्शनको फरक ढाँचा

‘युवा अलि बेसुरका हुन्छन्, बढी तडकभडक र आक्रामक स्वभाव देखाउँछन्, त्यसैले उनीहरुलाई तितरबितर पारिहाल्नुपर्छ,’ प्रायः प्रदर्शन भइरहेको ठाउँमा प्रहरी यस्तै मानसिकता बोकेर पुग्छ। पूर्वतयारी पनि प्रहरीले त्यसैअनुसार गर्छ। तर, पाँच दिनयता उपत्यकामा भएका प्रदर्शनका दृश्यले प्रहरीलाई पनि खुसी तुल्याएको छ। प्रदर्शन यसरी पनि गर्न सकिने रहेछ भनेर धेरैलाई थाहा पनि भइरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले पछिल्लोसमयका प्रदर्शन शान्तिपूर्ण भएको बताए। उनले युवाले तडकभडक शैली नअपनाएका कारण प्रहरीलाई पनि सहज भएको बताए।  

यसैबीच, नेपाली कांग्रेसले युवा प्रदर्शनलाई दमन होइन, सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध क्षमता बढाउँदै युवाको माग सम्बोधन गर्न कांग्रेसल आग्रह गरेको हो।  

देशका विभिन्न ठाउँमा केही दिनयता भइरहेका प्रदर्शनलाई कोरोनाविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा कांग्रेसले लिएको विज्ञप्तिमा उल्लेख छ। युवाका मागहरु यथाशीघ्र सम्बोधन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

यसैगरी विज्ञप्तिमा कांग्रेस राष्ट्रियताको पक्षमा ऐक्यबद्ध रहेकाले सरकारले यो विषयलाई गम्भीरताका साथ छिनोफानो गर्नुपर्ने उल्लेख छ। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा संसद्बाट पारित भएसँगै भूमि फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय ऐक्यबद्धता महत्वपूर्ण छ।’  

 

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App