४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेस संसदीय दलका नेता शाहीद्वारा सरकारी गाडी फिर्ता

कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कोरोना (कोभिड–१९) उपचारका लागि आफुले प्रयोग गर्दै आइरहेको सरकारी गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन्। उनले सबैभन्दा गरिव प्रदेश कर्णालीका जनता कोरोनाको उपचार नपाएरै मृत्युवरण गरिरहेका बेला आफुले गाडी चढ्न नसुहाउने भएकाले फिर्ता गरेको बताए।  

‘संसारको गरिव देश नेपाल, नेपालकै गरिव प्रदेश कर्णालीका जनता भैंसी गोठमा बसेर कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका छन्,’ संसद बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले भने, ‘यस्तो अवस्थामा महंगो सरकारी सवारी चढ्न नसुहाउने भएकाले आजैका मितिदेखि लागू हुने गरेर संसद सचिवालयलाई लु.अ. ४३६ नम्वरको गाडी फिर्ता गर्ने घोषणा गर्छु।’ उनले आफुले फिर्ता गरेको गाडी विक्री गरेर कोरोनाको उपचारमा खर्चिन सरकारलाई आग्रह गरे।

कांग्रेस संसदीय दलका नेता शाहीले विषयगत समितिका अध्यक्षलाई दिइएका गाडी पनि फिर्ता गरेर त्यसको सट्टामा मोटरसाइकल दिन सरकारलाई सुझाव दिए। ‘अहिलेको अवस्थामा विषयगत समितिका अध्यक्षहरुले पनि गाडी चढ्न सुहाउँदैन्,’ नेता शाहीले भने, ‘महंगा गाडी फिर्ता गरौं, त्यसको सट्टामा एक–एक मोटरसाइकल उपलब्ध गराऔं।’

कांग्रेस संसदीय दलका नेता शाहीले भारतबाट आएका नागरिकहरुलाई कोरोना रोकथामका नाममा भैंसी गोठमा राखेर सभामुखले पौने दुई करोडको गाडी चढेको समाचारले सिंगो कर्णाली र यहाँका जनप्रतिनिधिहरुको बेइज्जत भएको भन्दै सभामुख र मन्त्रीहरुलाई अहिलेका महंगा स्कारपीयो गाडीको ठाउँमा सस्तोखाले मारुती प्रयोग गर्न सुझाव दिए। ‘सभामुख, मुख्यमन्त्री, मन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, विषयगत समितिका सभापतिलगायतले प्रयोग गर्ने महंगा गाडी विक्री गरेर कोरोना उपचारमा केन्द्रीत गरौं,’ संसदीय दलका नेता शाहीले भने, ‘सभामुख, मुख्यमन्त्री र मन्त्रीलाई मारुती, समितिका अध्यक्षलाई मोटरसाइकल उपलब्ध गराऔं।’

शाहीले मन्त्रालय, अन्य सरकारी कार्यालय र संसद भवनमा प्रयोग गरिएका महंगा एसीको सट्टा पंखा जोड्न आग्रह गरे। ‘जनता विजुली नपाएर गर्मी खाइरहेका छन्, यस्तोमा मन्त्रालय, संसद भवन र अन्य सरकारी कार्यालयहरुमा एसी राख्न सुहाउँदैन्,’ उनले भने, ‘एसीको ठाउँमा पंखा जडान गरौं, एसीहरु विक्री गरेर आएको रकमलाई पनि कोरोना उपचारमा केन्द्रीत गरौं।’

प्रमुख प्रतिपक्षी दलका नेता शाहीले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र विकास कोषमा रकम नराख्न सरकारलाई सुझाव दिए। ‘निर्वाचन क्षेत्र विकास कोषमा जाने रकम पनि कोरोना उपचारमा केन्द्रीत गर्दा राम्रो हुन्छ,’ नेता शाहीले भने, ‘यो वर्ष निर्वाचन क्षेत्र विकास कोष शिर्षकमा रकम नराखौं।’ 

प्रकाशित: २३ जेष्ठ २०७७ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App