८ वैशाख २०८१ शनिबार
राजनीति

सीमा विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयास आवश्यक : भारत

नेपालसँग सीमावर्ती भूभागको स्वामित्वलाई लिएर विवाद चर्किरहेका बेला भारतले विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयासको आवश्यकता औल्याएको छ।  नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको स्वामित्वका विषयमा दुई मुलुकबीच विवाद चर्किदै गएको अवस्थामा भारतको यस्तो धारणा आएको हो।  

नेपालले वार्ता प्रयाससँगै आफ्नो भूभागमाथिको स्वामित्व स्थापनाका प्रयास गरिरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विहीबार भर्चुअल पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।  उनले छिमेकी मुलुकबीच यस किसिमका समस्या समाधानका लागि आपसी संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको बताएका छन्।  

भारतीय पक्षले नेपालका तर्फबाट सकारात्मक पहलको अपेक्षा गरिरहेका बेला कुटनीतिक क्षेत्रका जानकारहरु भने अहिले नेपालले भन्दा पनि भारतले रचनात्मक र सकारात्मक पहल गर्न आवश्यक रहेको बताउँछन्।  भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय विदेशमन्त्रालयका प्रवक्ताले बोलेको कुरा उनीहरूमै पहिले लागु हुनुपर्ने बताउँछन्।  नेपालसँगको सम्बन्ध विर्गान नेपालले नभई भारतले नै भूमिका खेलिरहेकाले त्यो पहिले उनीहरुमै लागु हुने उनको तर्क छ।    

उपाध्याय नेपालले वार्ताका लागि प्रयास गर्दा पनि भारतले वेवास्ता गर्ने, एकतर्फी रुपमा काम अघिबढाउने जस्ता कामको र दुई देशका विज्ञ सम्मिलित इपिजी प्रतिवेदन बुझ्न पनि भारतले नै अस्वीकार गरेको बताउँछन्।  उनी नेपाल र भारतबीच सीमा विवाद मात्र नभएर व्यापार, पानी लगायतका अन्य कतिपय विषयमा पनि भारतले वेवास्ता गर्दै आइरहेको बताउँछन्।  यसले गर्दा दुवै पक्षलाई लाभ हुनसक्ने अवस्थामा पनि दुवै देशका जनताले दुःख भोगिरहेको उनी बताउँछन्।  

‘वार्ताका लागि वातावरण बनाउने पहल उतैबाट सुरु गर्नुपर्छ, अहिले बल भारतको कोर्टमा छ,’ उनले भने।  उपाध्याय सिद्धान्तमा भारतले छिमेक पहिलो नीति अलवम्बन गरे पनि व्यवहारमा त्यस्तो नगरेको बताउँछन्।  उनी नेपाल भारत सम्बन्ध बिग्रदा त्यसको असर नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै पर्ने बताउँछन्।  ‘वार्ताको वातावरण विगार्ने काम भारतबाटै भइरहेको छ त्यसैले यसका लागि सकारात्मक वातावरण बनाउने जिम्मा पनि उनीहरुकै हो,’ उनले भने।  

नेपालका तर्फबाट पनि परिपक्व कुटनीति अलवम्बन गर्नुपर्ने उपाध्याय बताउँछन्।  ‘जिम्मेवार तहमा हुनेले कहाँ के बोल्नुपर्छ भन्ने बुझ्नुपर्छ, कच्चा कुटनीति अवलम्बन गर्दा त्यसको असर हामीलाई नै पर्छ,’ उनले भने।  जिम्मेवार तहमा रहेका व्यक्तिबाटै एउटै विषयमा फरक फरक धारणा बनाउनुभन्दा एउटै धारणा बनाएर अघि बढ्नु पर्ने उनको सुझाव छ।  त्यसका लागि परराष्ट्र मन्त्रालयलाई बलियो बनाएर अघि बढ्न सकिने र अहिले झण्डै दुई तिहाइको सरकार भएकाले त्यसका लागि उपयुक्त वातावरण पनि रहेको उनी बताउँछन्।    

भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालमा सीमा विषयमा भइरहेको पछिल्लो विकासक्रमलाई नजिकबाट हेरिरहेको र विषयको गाम्भीर्यताका आधारमा  पछिल्ला घटनाक्रमलाई ध्यानपूर्वक लिएको बताएका थिए।  भारतले आपसी संवेदनशीलता र सम्मानका आधारमा छिमेकी मुलुकसँग छलफलका लागि तयार भएको बताउँदै यसका लागि विश्वासको वातावरण हुनुपर्ने उनको तर्क थियो।  ‘यो निरन्तरको प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक पर्छ,’ उनले भनेका छन्।  

कुटनीतिक मामिलाका जानकार मदन भट्टाराई दुई मुलुकबीच वार्ताको वातावरण हुनुपर्ने अर्थमा यस्तो भनाइ आएको हुनसक्ने बताउँछन्।  हाल दुई मुलुकबीच एक अर्काकाबीचमा संवाद (टकिङ टु इच अदर्श) हुनुपर्नेमा एक अर्काका बारेमा (टकिङ एट इच अदर्श) को अवस्था रहेकाले अहिलेको स्थिति आएको भट्टराई बताउँछन्।  हालको समस्या समाधानका लागि दुई मुलुकबीच उच्चस्तरीय तहमा विश्वासको वातावरण बन्नुपर्ने उनी बताउँछन्।  

भट्टराई नेपालले छिमेकीलाई प्राथमिकतामा राख्दै शान्त कुटनीति मार्फत समस्याको समाधान खोज्नुपर्ने बताउँछन्।  उनी दुई मुलुकबीचको विशिष्ट सम्बन्धलाई ध्यानमा राख्दै दुवै पक्ष गम्भीर भएमा मात्र समस्या समाधान हुने बताउँछन्।   ‘हाम्रो बीचमा निकै राम्रो सम्बन्ध छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यहाँ समस्या पनि हुन्छ।  त्यसैले द्विपक्षीय सम्बन्धका आधारमा समस्याको समाधान खोज्नुपर्छ,’ उनले भने।  

गत नोभेम्बरमा भारतले नेपालको भूभागलाई समेत समेटेर नक्सा प्रकाशित गरेपछि सुरु भएको विवाद केही दिन अघि भातले लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण तथा उद्घाटन गरेपछि थप चर्किदै गएको छ।  यस विषयमा नेपालले भारतसँग वार्ताका लागि पटक पटक पहल गर्दा समेत उसले वेवास्ता गर्दै एकतर्फी रुपमा अघि बढ्न खोजेपछि समस्या आएको छ।  नेपालले ती भूभागलाई समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको छ।  

मन्त्रिपरिषदबाट नेपालको नक्सा स्वीकृत भएर संविधान संशोधनको प्रक्रिया समेत सुरु भइसकेको अवस्थामा भारतले वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक हुने जनाएको हो।  भारतले नेपालले हालै जारी गरेको नक्सालाई अस्वीकार गर्ने बताएको छ।  नेपालले पनि भारतले गत नोभेम्बरमा सार्वजनिक गरेको नक्सालाई अस्वीकार गर्ने जनाइसकको छ।  नेपालले विवादलाई वार्ताकै माध्यमबाट सल्टाउनका लागि भारतसँग पटक पटक प्रयास गर्दै आएको छ।  अहिले पनि नेपाल वार्ताकै माध्यमबाट समस्याको समाधानका पक्षमा रहेको छ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App