१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

समस्या थपिदै गएको छ समाधान खोज्दै जाने हो : मुख्यमन्त्री पोखरेल

छलफलमा उपस्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरु ।

भैरहवा- कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा प्रदेश ५का मुख्यमनत्री शंकर पोखरेलले रुपन्देहीका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग भैरहवामा छलफल तथा सुझाव लिएका छन् ।

कोभिड-१९ विरुद्ध भइरहेका काम, योजना र प्राथमिकता बारे बोल्दै मुख्यमन्त्री पोखरेलले भने, 'शक्तिशाली राष्ट्रहरुले पनि भाइरस नियन्त्रण र समस्याको समाधान गर्न सकेका छैनन् हामीले प्रयास गरिरहेका छौ ।' समस्या थपिदै गएको छ समाधान खोज्दै जाने हो । स्थानीय सरकार र जनप्रतिनिधीहरुले गरेको सहयोगले नै यतिका सम्भव भएको बताए ।  

प्रशासन, सुरक्षकर्मी र जनप्रतिनिधी व्यवस्थापक भएकोले जस्तो महामारी भएपनि डराउन नमिल्ने बताउदै एक अर्कालाई सहयोग गरेर विपतसँग सामाना गरी जीवन बचाउने युद्धका फौज सरहका फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई दुरुत्साहन नगरी काममा प्ररित र प्रोत्साहन गर्नु पर्ने बताए ।  

स्थानीय तह, राजनैतिक दल, सुरक्षा र प्रशासन बीचको समन्वय र सहकार्यबाट नै भाइरसबाट जित्न सकिने भएकोले ४ प्रकारको क्वारेन्टाइन बनाउन आग्रह गरे । संक्रमण नभएको क्षेत्रबाट आएकालाई होम क्वारेन्टिन, संक्रमित क्षेत्रबाट आएका स्वास्थ्य व्यक्तित्वका लागि निश्चित समुदायहरु मिली सामुदायिक क्वारेन्टिन, संक्रमण फैलेको ठाउँबाट आएका लागि स्थानीय सरकारको व्यवस्थापनमा स्थानीय तह स्तरीय क्वारेन्टिन र जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको व्यवस्थापनमा लामो समय बस्न नमिल्ने गरी सिमाको रहेका नेपालीहरुको समस्या समाधान गर्न जिल्ला स्तरीय क्वारेन्टिन बनाउनु पर्ने बताए ।  

त्यस्तै दुई दिन भित्र २ सय वेडको आइसोलेसन सेन्टर निर्माण गर्न तयारी गर्ने जसको खर्च तत्काल व्यवस्थापन गरी प्रदेश सरकारले कोभिड कोषबाट खर्च व्योहोर्ने बताए । प्रदेश सरकारको कोषले अहिले कोरोना विशेष अस्पतालको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ, प्रदेशमा पनि संक्रमणबाट विरामीहरु बढदै गएकोले तत्कालै ती अस्पतालको क्षमता बृद्धि र जनशक्ति व्यवस्थापनमा पनि लागेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको समग्र कोरोनाको बस्तु स्थिती बारे जानकारी गराएका थिए । उनले रुपन्देहीमा ६१ वटा क्वारेन्टिनमा ५२ जिल्लाका २८९० जना व्यक्ति रहेका छन् भने ८८ जना भारतीय नागरिकहरुलाई पनि सिद्धार्थनगर नगरपालिकाले क्वारेन्टिनमा व्यवस्थापन गरी राखेको जानकारी दिए । रुपन्देहीको लकडाउन समग्रमा नियन्त्रीत नै भए पनि भाइरस परीक्षणका लागि किट र सुरक्षा सामाग्रीको अभाव रहेको बताए ।  

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरुले अहिले भइरहेका काम र समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरुले फिल्डमा खटिए पनि हतियार नभएकोले व्यवस्थापन गर्न, स्थानीय क्षेत्रमा रोजगारीको उपलब्ध गर्र्न, सुरक्षकर्मीको कमि भएको ठाउँमा नगर प्रहरीको व्यवस्थापन गरी समस्या हल गर्न, मलखाद र विउविजनको व्यवस्थापन छिटो भन्दा छिटो गर्न, परीक्षणको संख्या र दायरा बढाउन, बैधानिक बाटोबाट सबै नेपाली नागरिकलाई भित्र्याउन ठोस निति लिन, सुरक्षकर्मी सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन, राहत वितरणमा एकरुपता ल्याउन र सीमा क्षेत्रका स्थानीय तहमा विशेष प्याकेज ल्याउन लगायतका माग प्रदेश सरकारसँग गरेका थिए ।

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App