२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘राष्ट्रियता संरक्षण गर्न चुप लागेर नबस्ने’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध जनवर्गीय संगठनहरूले सम्प्रभुता रक्षाका लागि देशव्यापी संघर्ष गर्ने अठोट लिएका छन्। मुलुक अहिले अत्यन्तै विषम परिस्थितिमा रहेको भन्दै उनीहरू राष्ट्रियता संरक्षण गर्न चुप लागेर नबस्ने निष्कर्षमा पुगेका हुन्।  

उनीहरूले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप भएकोमा चिन्ता प्रकट गर्दै मातृभूमिका लागि बलिदान दिन तयार रहेको बताएका छन्। राप्रपाका तीन अध्यक्ष पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापालाई बिहीबार ज्ञापनपत्र बुझाउँदै राप्रपासम्बद्ध युवक संगठन, महिला संगठन, विद्यार्थी संगठन, किसान संगठन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र महिला विभागसमेतले यस्तो धारणा अघि सारेका हुन्।

‘नेपाली भूमि नेपालकै रहनुपर्छ। लिपुलेक नेपालको हो, यसमा हामी प्रस्ट छौं। विवाद निराकरण गर्न सरकार दृण भएर प्रस्तुत हुन जरूरी छ, हामी खबरदारी गर्न, जुनसुकै मूल्य चुकाउन तयार छौं,’ राप्रपा अध्यक्षहरूलाई चाबहिलस्थित केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएपछि विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीले भने।

राप्रपा भर्खरै एकताबद्ध भएको सन्दर्भमा पार्टीलाई एकताबद्ध राख्न र पार्टीलाई नीति, पद्धति र प्रक्रियागत रूपमा सञ्चालन गर्न जनवर्गीय संगठनहरूले राप्रपा अध्यक्षहरूको ध्यानाकर्षण गरेका छन्।  

नेपाली भूमि रक्षा गर्न सम्पूर्ण राष्ट्र एक ढिक्का हुनुपर्ने बेला, राप्रपालाई एकताबद्ध रूपमा अघि बढाउन पार्टी नेतृत्वसँग जनवर्गीय संगठनहरूले माग गरेका छन्। अध्यादेश प्रकरणमा जस्तो भिन्नभिन्न विचार सार्वजनिक नगर्न, सल्लाह र सहमतिमा निर्णय लिन अनुरोध गरेका छन्।

राप्रपा र जनवर्गीय संगठनहरूको नाम दुरुपयोग गरी १२, १५ जनाले प्रदर्शन गर्दै सिंगो पार्टीको बेइज्जत गरेकोमा ज्ञापन पत्रमा चिन्ता प्रकट गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७७ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App