२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

संकटमा सहकार्य गर्ने विप्लवको प्रस्ताव

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गर्दै सहकार्य गर्ने जनाएका हुन्। कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपङ्क्तिलाई सचेत गराएका छन्।

उनले नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउनसरकारले नसकेको ठहर गरेका छन्। ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ। यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ, अर्बौं मानिसलाई भयभीत बनाएको छ। यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्वयुद्धपछिको सङ्कट भत्र थालेका छन्। यसले विश्व–अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको सन्दर्भ उल्लेख उल्लेख गरेका छन्।

‘चीनको वुहान सहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पुँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भयो’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विप्लवले नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको जनाउदै चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवनाका बारेमा चर्चा गरे पनि रोकथामका उपायबारे पहल नगरिएको आरोप लगाएका छन्।

‘बिरामीहरू कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरूको सूचना सरकारले लुकाएको हुनसक्ने आशङ्का बढेको देखियो। चितवनलगायत विभिन्न स्थानहरूमा सयौँ शैय्याको अस्पताल निर्माण गरेको प्रचारबाजी गरे पनि त्यसप्रकारका अस्पतालको प्रयोजन नभएको वा अस्पताल नै नभैकन प्रचार सामग्री मात्र तयार गरिएको देखियो’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २२ चैत्र २०७६ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App