८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

महरालाई ‘एमसिसीको बर्को’

रोल्पा सदरमुकाममा महरा । तस्बिर: दिनेश/नागरिक

रोल्पा- तत्कालीन माओवादीका प्रभावशाली तथा शक्तिशाली नेता पूर्व सभामुख कृष्णबहादुर महरा कुनै बेला नेपाली राजनीतिका हस्ती मानिन्थे। उनी माओवादी शान्ति प्रकृयामा आएपछि सधै जसो सत्ताको सेरोफेरामा बसे। सांसद खरिदका लागि चिनियाँसँग ५० करोडको डिल र पूर्वलडाकूको रकममा हेराफेरीको आरोप लागे पनि उनको ओज घटेको थिएन। अर्थात महरा राजनीतिमा प्रभावशाली थिए।

तर पछिल्लो समय संसद सचिवालयकी एक कर्मचारीमाथि जवरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि तीन महिना जेल बसेका उनै महरा अचेल फुर्सदमा छन्। फागुन ५ गते काठमाडौं जिल्ला अदालतले जवरजस्ती करणी प्रयास मुद्दामा सफाई दिएपछि महराको तीन महिना लामो जेल बसाइ सकिएको थियो। हिजो आज उनी मतदाता र जिल्लावासिलाई सफाई दिन ब्यस्त छन्।

अदालतबाट सफाई पाएको केहि दिनपछि १२ फागुनमा महरा पछिल्लो पटक आफू निर्वाचन लडेको क्षेत्र दाङ गएका थिए। दाङ बसाइपछि गृह जिल्ला रोल्पा आएका महरा बिभिन्न गाउँ घुमे। उनी पुगेको कुनै पनि ठाउँमा पार्टीले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन तर उनलाई स्वागत गर्नेहरुमा उनका पक्षधर कार्यकर्ताको हालिमुहाली देखिन्थ्यो।

प्रत्येक स्वागतमा जति तामझाम गरिए पनि लामो समय युद्ध लडेका महराको कार्यक्रम र र्‍यालीहरुमा हसिया हतौडाको झण्डा देखिएन। नेपालको राष्ट्रिय झण्डा उचालेका उनका समर्थकहरुले कम्युनिष्टको झण्डाको प्रयोग किन गरेनन् भन्ने गतिलो जवाफ कोहिसँग पनि छैन। रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिका अनुसार ‘यो नागरिक अभिनन्दन तथा स्वागत हो त्यसैले पार्टिको झण्डाको प्रयोग नभएको हो।’ भन्नेहरुले नागरिक तवरको स्वागत भने पनि उनको छेउछाउमा नितान्त कार्यकर्ताको घुईचो देखिन्थ्यो।

प्रत्येक ठाउँमा महराले गरेका सम्बोधनहरु अमुर्त रहे। स्वागत र सम्मानमा बाजागाजासहित जम्मा भएका मानिसलाई आफू निर्दोष रहेको जिकिर गरे। बिभिन्न स्थानमा सम्बोधन गर्दै महराले षडयन्त्रपूर्वक आफूलाई भूमरीमा फसाइएको र त्यो लडाइँ जितेर आएको दाबी गरे। राष्ट्रिय स्वाधिनताको सवालमा सधैँ दृढतापूर्वक लाग्ने प्रतिवद्धता पनि सबै ठाउँमा दोर्होयाए। सबै ठाउँमा एकैनासको भाषण गर्ने महराले बाँकी कुरा समय आएपछि बोल्ने बताएका छन्। उनले बाँकी कुरा समय आएपछि बोल्ने भन्दै गर्दा कतिपयले तत्कालीन कांग्रेस नेता गिरिजाप्रशाद कोईरालाले गरेको ‘ग्राईनडिजाईन’को अमुर्त जिकिरसँग तुलना गरिरहेका छन्।

षड्यन्त्रपूर्वक आफूलाई तीन महिना भूमरीमा पारिएको तर्क गर्ने महराले रोल्पा सदरमुकाममा काग र चिलको कथा सुनाउदै आफ्नै पार्टीभित्रका ईतर पक्षलाई तर्साउने प्रयत्न समेत गरे। ‘एउटा कागले हड्डी समात्यो। हड्डी देखेपछि बाजले कागलाई ठुङ्न थाल्यो। यति ठुङ्यो कि ठुङ्दाठुङ्दा त्यो काग हैरान भयो। अनि कागले सोच्यो, यो हड्डी नफाल्दासम्म यसले ठुङ्याठुङ्यै गर्छ। अनि कागले हड्डी फालिदिएपछि बाज हड्डीतिर लाग्यो। काग आफ्नो ठाउँमा लाग्यो।’

कथामा गहिरो कुरा लुकेको भन्दै महराले भने ‘सायद कसैले मैले त्यो सत्ताको ठूलो हड्डी समाउन थालेको देखे। म सभामुख भइसकेको मान्छे। त्योभन्दामाथि जानेवाला थिएँ। तर तपाईंहरूको आशीर्वाद र माया हुने हो भने अहिले पनि जान्छु। फेरि पनि जान्छु। कसैले चाहेर, रिस गरेर महरापछि हट्नेवाला छैन।’

रोल्पामा तत्कालीन माओवादीको दुईधार यसपटकको उनको यात्रामा प्रस्ट देखियो। उनलाई भेट्न वा स्वागतका लागि उनी ईतर मानिएका थोरै मात्र नेता कार्यकर्ता पुगे पनि उत्साह र सम्मान प्रयाप्त देखाएनन्। उनीहरुले जिल्लामा हुने चिया गफमा महराको राजनीतिमा कम्ब्याकको सम्भावना नदेखेको बताए। ‘उहाँ सभामुख हुँदा पार्टिको सदस्यता त्यागि सकेको व्यक्ति हो। उहाँलाई पार्टिले स्वागत वा सम्मान गर्ने अवस्था छैन।’ महरासँगै लामो समय भूमिगत जीवन बिताएका जिल्ला स्तरीय एक नेताले भने ‘दाग दुई थरि हुन्छन्। महरा सरको अहिलेको दाग मेटिन गाह्रो छ।’

पञ्चेबाजासहितको स्वागत, दिनहुँ समर्थकसँगको बाक्लो भेटघाट अनि फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिन नै देखिन्थ्यो। अनुहारमा चमक नदेखिए पनि भत्कीनै आँटेको राजनीतिक बिरासत फेरि ठडिने आशा दंगाली र रोल्पालीको स्वागतले बढाएको छ। तर आफूमाथि लागेको दाग पूर्णतः मेटिने वा नमेटिने भन्ने चुनौती उनका सामु छ।

मनमा राजनीतिक कमब्याक हुने अभिलाषा बोकेर निर्वाचन क्षेत्र दाङ र गृह जिल्ला रोल्पा घुमेका महराको राजनीतिक यात्रामा पूर्णविराम लाग्न सक्ने देख्नेहरु पनि छन्। लामो समय रोल्पा सदरमुकामस्थित एक माविमा शिक्षकका रुपमा रहेका उनलाई राजनीतिज्ञ भन्दा पनि ‘महरा सर’का नामले चिन्नेहरु धेरै छन्।

शालिन र भद्र नेताका रुपमा छबि बनाएका उनै महरा आलोचित हुँदा राजनीतिक अभिभावक गुमाएको अनुभव गर्ने रोल्पालीहरु महराले ओढेको एमसिसि बर्को हेरेर चित्त बुझाएका छन्। त्यसो त केहि विश्लेषकहरु महरालाई एमसिसि बर्को बनेको बताउँछन्। २० गते रोल्पा आएका महरा साता दिन लामो गृह जिल्ला बसाई सकेर मंगलबार होलेरी हुँदै दाङ तर्फ लागेका छन्।

 

प्रकाशित: २८ फाल्गुन २०७६ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App