५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचार मुद्दामा पूर्वडिआइजीदेखि खरिदारसम्म

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि सेवानिबृत्त डिआइजी महेशविक्रम शाहलगायत चार जना प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले रकम हिनामिना गरेको ठहर गर्दै ३३ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरी मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा २०७२ साल वैशाख २७ मा प्रहरी जवान पदमा नयाँ भर्ना भएका थिए। तालिम सकिएपछि सबै प्रहरी जवानको सरुवा भएकोमा तालिम केन्द्रका समादेशक महेशविक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशवसिंह ऐरीकोे मिलेमतोमा सरुवा भएकाको तलबभत्ता निकाली हिनामिना गरेको अख्तियारको दाबी छ।

सरुवा भएका एक सय तीन जना प्रहरी जवानको दुई महिनाको तलब–भत्ता २०७२ सालमा निकाली एक सय ४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको दुई दिनको भत्तासहित किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरेको अख्तियारले आरोप–पत्रमा उल्लेख गरेको छ।

त्यसैगरी, अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जनाविरुद्ध दुई करोड दुई लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको भन्दै आरोप–पत्र दर्ता गरेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासी र सुनौला खिम्तीका शिवराम जेभोट, दोलखाबीच जलुके र विजयनगर खानेपानी तथा सरसफाइ आयोजनाको क्रममा ठेक्का सम्झौतामा मिलेमतोमा रकम हिनामिना गरेको अख्तियारको दाबी छ।

जेभी पार्टनर शिवजी सापकोटा, वैकुण्ठप्रसाद भण्डारी, धर्मराज भण्डारी, रावा बैंक शाखाका प्रबन्धक राजुप्रसाद ढकालसमेतको मिलेमतोमा नक्कली जमानत र अग्रिम रकम भुक्तानी गरिएको अख्तियारको दाबी छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका तत्कालीन कार्यालय प्रमुख रामचन्द्र काफ्ले, लेखा अधिकृत ध्रुवराज गौतमलगायतलाई मुद्दा दर्ता गरिएको हो। साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशुंखेले मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा सरुवा भएका प्रहरीको नाममा तलब, भत्ता तथा कट्टि रकमसमेतको भरपाई बनाइ रकम हिनामिना गरेको अख्तियारको आरोप छ। बिशुंखेलाई पनि सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोप–पत्र दर्ता भएको छ।

त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईसमेत आठ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दामा आरोप–पत्र दर्ता गरेको छ। अख्तियारले एक लाख ८७ हजार रुपैयाँ घुस लिएर गलत लिखत तयार गरेको भन्दै मुद्दा दर्ता गरेको हो। मरिसकेका मानिसको नाममा औंठाछाप लगाई व्यक्तिको नाममा मिलेमतोमा जग्गा पास गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो। धरान–१० की रनमाया लिम्बुको किर्ते आंैठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको अख्तियारको ठहर छ।

तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई, नायव सुब्बा मनोज घिमिरे, फाँटवाला कृष्णप्रसाद नेपाल, मोठफाँट रामप्रसाद भट्टराईले २०७० सालमा मृत्यु भएकी रनमाया लिम्बुको नाममा औंठाछाप लगाई आएको लिखतलाई जग्गा लिने र दिने गरेका थिए। गैरकानुनी तरिकाले हक नपुग्नेलाई हस्तान्तरण गरेपछि दधिराम गुरागाई, मनोज घिमिरे, कृष्णप्रसाद नेपाल, रामप्रसाद भट्टराईलाई कैद, सजाय र जरिवाना मागदाबी गरेको छ।

त्यसैगरी, खाद्य संस्थान भैरहवाका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठ र खरिद इकाई प्रमुख खड्गबहादुर ज्ञवालीविरुद्ध दुई लाख ३८ हजार मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको छ। धान कुट्ने राइस मिल जडान गर्ने क्रममा संस्थानका महाप्रबन्धकदेखि फाँटवाला, ठेकेदारको मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App