८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारी नदिएकोमा कांग्रेसमा असन्तुष्टि

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन्। संसदीय दल कार्य समितिको मंगलबार संसदीय दलको कार्यालय सिंहदबारमा बसेको बैठकले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बहुमत पनि नरहेको र सभामुख तठस्थ पद भएको भन्दै पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको थियो। तर पार्टीका नेताहरू भने उम्मेदवारी नदिएर प्रमुख प्रतिपक्षीको भूमिका भूलेको आरोप लगाएका हुन्।

संसद्मा प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै विभिन्न क्षेत्रबाट कांग्रेसको आलोचना भइरहेका बेला नेता अर्जुननरसिंह केसीले

प्रमुख प्रतिपक्षले सत्ताको भाग, अंस र सौदाबाजी गर्नु नहुने जनाएका छन्। ‘संविधानको रक्षा, भ्रष्टाचार, विधिहीनता, हत्या, हिंसा बलात्कार, महँगी, बेरोजगारी र जनसरोकारका विषयमा सशक्त भूमिका गर्ने हो,’ केसीले समाजिक सञ्जालमा लेखेका छन्, ‘कहिले नीतिमा सहमति र अहिले सभामुख प्रतिस्पर्धाविहीन हुनुले स्थिति भ्रमित बनाएको छ।’

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पनि उम्मेदवारी नदिएकोप्रति असन्तुष्टि जनाएका छन्। ‘शान्ति प्रक्रिया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन।’

शान्ति प्रक्रियाका नाममा गम्भीर अपराधका आरोपितलाई विशिष्ट पदमा लान नहुने भन्दै उनले लेखेका छन्, ‘विशिष्ट पदको आवरणमा न्यायिक प्रक्रियामा पूर्णविराम लगाउने प्रयत्न नहोस्।’

संविधानअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जनाउँदै अर्का केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘सभामुख र उपसभामुख सत्तापक्ष र प्रतिपक्षको हुँदैन भन्ने मान्यता पनि छ। तर यतिखेर उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिब हो जस्तो लाग्दैन। शीर्ष नेतृत्वको जो मर्जी !’

प्रकाशित: ९ माघ २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App