१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

बुटवल- नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले देशमा भएका ठूल्ठूला भ्रष्टाचार र अपराधका घटनामा सरकार नजिकका मान्छेहरु परेकाले उनीहरुको  संरक्षण गर्ने र जनताको आवाज बन्द गर्ने नियत सूचना प्रविधिलगायतका विधयेकहरुमा स्पष्ट देखिएको बताइन्।

‘कानुन सबैका लागि बराबर हुनुपर्छ। आफू भ्रष्टाचार गर्ने र कमिकमजोरीहरु गर्दै जाने अनी त्यसकाविरुद्ध जनतालाई बोल्नै नदिने?' नेता कोइरालाले भनिन्। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु नियमन र संयमित हुनुपर्छ भन्ने पक्षमा आफू भएपनि हालै पास गरिएको सूचना प्रविधि विधयेक भने सरकारका गलत क्रियाकलापकाविरुद्ध उठीरहेका आवाजलाई दबाउनकै लागि ल्याइएको उनले दावी गरिन्। ‘सरकार र उसका मान्छेहरुले जे गरेपनि हुने? एउटा पक्षलाई खेद्न र कमिकमजोरी औल्याइदिने जनतालाई नै चुप लगाउन कानुन बनाउने सरकारले कसरी समृद्धि ल्याउछ?’ भन्दै नेता कोइरालाले प्रश्न गरिन्। सरकारको यस्तै रवैया रहीरह्यो भने प्रजातन्त्र नै मासीने खतरा हुने उनले औल्याइन्।

निर्मलाका बलात्कारी र हत्याराविरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदहरुसमेत नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभई आफ्नो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप उनको  छ। सरकारले नै निर्मलाको हत्यारा र बलात्कारीलाई संरक्षण गरेको भन्दै नेता कोइरालाले भनिन् ‘प्रधानमन्त्रीले देश बनाउछु भन्नुहुन्छ तर खै त निर्मलाका हत्यारालाई कारबाही गरेर देखाएको? बलात्कारी, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ प्रधानमन्त्रीमा?’

नेता कोइरालाले आन्तरिक विवाद त्यागेर एक ढिक्का हुन नसके काँग्रेस आगामी निर्वाचनमा झनै कमजोर हुने टिप्पनी पनि गरीन्। विधानले नै पार्टी र नेताहरुलाई बलियो बनाउने भन्दै उनले पार्टी नेतृत्वले सबैलाई मिलाएर लैजानु पर्नेमा जोड दिएकी हुन्। ‘दुइटै पक्षले एक पटक मिलेर हेर्नुस् त। इगो, रिसराग, लोभ सबै त्यागेर पार्टीलाई जिताउनुस अनी तपाईहरु झगडा गर्नुहोला’ नेतृ कोइरालाले भनीन्। केन्द्रमा विवाद भयो भनेर त्यसैको सिको नगर्न जिल्लाका नेताहरुलाई आग्रह गर्दै उनले मिलेर अगाडी बढ्न र पार्टीलाई जिल्ला स्तरबाटै बलियो बनाउनु पर्नेमा जोड दिइन्।

प्रकाशित: १८ पुस २०७६ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App