२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय निकायका सफ्टवेयर ‘ह्याक’, डाटा गुम्ने खतरा

उदयपुर –स्थानीय निकायहरुले सञ्चालनमा ल्याएको कम्प्युटर सफ्टवेयर चार दिनअघि ‘ह्याक’ भएपछि काम काजमा बाधा आईपरेको छ।

महालेखा परीक्षण कार्यालयले विकसित (डेभलप) गरेको सफ्टवेयर ह्याक भएको हो। काार्यालयले सञ्चालनमा ल्याएको स्थानीय सुरक्षित कोष व्यवस्थापन प्रणाली (सुत्र) अचानक ह्याक हुँदा गाउँ तथा नगपालिकाका कामकाज ठप्प भएका छन्। 

महालेखाले चालु आर्थिक वर्ष देखि देशभरका ७ सय ५३ वटै स्थानीय तहहरुमा अनिवार्य सफ्टवेयर सञ्चालनमा ल्याइएको थियो।

शुक्रबार विहान अकस्मात सुत्र चल्न छाडेपछि महालेखाको सूचना प्रविधि (आईटी) शाखाका प्राविधिक टोलीले अनुसन्धान गर्दा अज्ञात समूहले ह्याक गरेको पत्ता लागेको थियो। ह्याक भएको पत्ता लागेदेखि नै मर्मत कार्य सुरु गरिए पनि सोमबार दिउँसोसम्म सुत्र चालु हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) उदयपुरले जनाएको छ।

कोलेनिकाका प्रमुख कोष नियन्त्रक हीराप्रसाद न्यौपानेले शुक्रबार सुत्र बिग्रेपछि कम्प्युटर राईज्ड सरकारी लेखा प्रणाली (सिएजीएस) अनुसार चल्ने सबै स्थानीयतहको आर्थिक गतिबिधिमा अवरोध आएको बताए।

सुत्र ह्याक भएपछि गाउँ तथा नगरपालिकाका सबै आर्थिक गतिबिधि ठप्प भएको स्थानीयतहहरुले जनाएका छन्। सदरमुकाम त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले शुक्रबारदेखि नचलेको सुत्र अझै सञ्चालनमा नआउँदा नगरको आर्थिक गतिविधि ठप्प भएको बताए।

उनले अहिले भुक्तानीको त्यति धेरै चाप नभए पनि धरौटी फिर्ता, विभिन्न योजनाहरुको पेश्की तथा नियमित कार्यालय सञ्चालनका भुक्तानीहरु प्रभावित भएको बताए। 

लिमचुङबुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले सुत्र ह्याक भएका कारण आर्थिक गतिबिधि ठप्प भएको र भौतिक संरचना निर्माणका योजनाहरु प्रभावित भएको बताए। नियमित कामकाजका भुक्तानी रोकिदा ठूलो समस्या नभए पनि महत्वपूर्ण योजनाहरु सुत्र ह्याक भएपछि प्रभावित भएको अधिकृत राईले बताए।

उनले धेरै मेहनेत गरेर प्रविष्ट (इन्ट्री) गरेको विवरण (डाटा) सबै उडेकाले आर्थिक गतिबिधिको विवरण गुमेको बताए। ‘गतविगत वर्षहरुको आर्थिक विवरणसँगै चालु वर्ष साउनदेखिका सबै विवरण इन्ट्री थियो’ लेखा अधिकृत राईले भने ‘सिस्टम नै ह्याक हुँदा अपडेट गरिएका सबै डाटा डिलेट भएछन्। अब फेरि इन्ट्री गर्न धेरै झन्झट हुन्छ भने डाटा लसले गाउँपालिकाको पारदर्शीतामाथि प्रश्न उठ्ने संभावना पनि हुन्छ।’

लिमचुङबुङसँगै ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिका तथा चौदण्डीगढी, बेलका र कटारी नगरपालिकामा पनि सुत्र नचल्दा विकास निर्माणका काम प्रभावित भएको छ। उदयपुरगढी गाउँपालिकाका लेखापाल कृत रायमाझीले सुत्र नचल्दा गतवर्षदेखिका क्रमागत विभिन्न योजनाहरुको सम्पन्न कामको भुक्तानी रोकिएपछि चालुवर्ष काम अघि बढ्न नपाएको बताए। 

रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले क्रमागत योजनामा विगत वर्षको बजेटबाट सम्पन्न कामको भुक्तानी दिएर चालुवर्षको काम थाल्नुपर्नेमा सुत्र नचलेपछि भुक्तानी रोकिएसँगै काममा बाधा आईपरेको बताए।

‘अहिले हरेक गतिबिधिको विवरण अनलाईन सप्mटवेयरमार्फत हुने गरेको छ’ राईले भने ‘सुत्र नचलेपछि हात कलम बसेको छ। तलबभत्तादेखि ठूलठूला योजनाको कामको भुक्तानीलगायत कुनै काम हुन पाएको छैन।’  

महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले अज्ञात समूहले ह्याक गरेको सुत्र सञ्चालनमा ल्याउन बिग्रेदेखि नै मर्मत कार्यमा महालेखाको प्राविधिक टोली लगातार लागिरहेको बताए।

उनले सूचना प्रविधि शाखाका इन्जिनियरहरुको टोलीले शुक्रबारदेखि सोमबार दिउँसोसम्म धेरै मर्मत भईसकेको तर, अझै पूर्ण रुपमा सञ्चालन हुन बाँकी रहेको भुर्तेलले बताए। भुर्तेलले ७० प्रतिशत मर्मत कार्य सकिएको बताउँदै मंसिर १२ देखि पुस ६ गतेसम्म प्रविष्ट गरिएको विवरण भने अझै नभेटिएको बताए। 

‘शुक्रबार सुत्र ह्याक भएदेखि नै हाम्रो आईटी टोली सक्रियतापूर्वक बनाउन लागिरहेको छ’ भुर्तेलले भने ‘तर, अरु धेरै रिकभर भए पनि मंसिर १२ देखि पुस ६ गतेसम्मको डाटा रिकभर हुन बाँकी छ।’

उनले एक÷दुईदिनभित्रै पूर्ण रुपमा सुत्र सञ्चालन हुने गरी मर्मत कार्यमा टोली लागिरहेको पनि बताए। मलेनिकाले डेभलप गरेका आधादर्जन सप्mटवेयरमध्ये पहिलो चोटी यो ह्याक भएको भन्दै उनले ह्याकरको खोजी भईरहेको बताएका छन्। प्रहरी अनुसन्धान टोलीले ह्याकरको खोजी गरिरहेको पनि भुर्तेलले बताएका छन्।

प्रकाशित: ७ पुस २०७६ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App