१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महानगरले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउन नीति ल्याउँदै

काठमाडौं - काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउने नीति ल्याउने भएको छ। महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सोमबार आयोजित आगो नियन्त्रण, खोज तथा उद्धारसम्बन्धी सात दिने आधारभूत तालिम समापन कार्यक्रममा अग्नि नियन्त्रकको प्रोत्साहनका लागि नीति ल्याउन लागेको बताए।

तालिम जुद्ध बारुण यन्त्र कार्यालयले आयोजना गरेको हो। ‘अग्नि नियन्त्रकले शरीरभन्दा बढी पेशाको माया गर्ने भएकाले उनीहरूलाई आत्मसम्मान हुने गरी महानगरले कार्यक्रम अघि सार्ने छ,’ उनले भने। महानगर अग्नि नियन्त्रण शाखा (जुद्ध बारुण यन्त्र कार्यालय) प्रमुख लीलाराज गाछाले काठमाडौं दमकलका अग्नि नियन्त्रकलाई जोखिमसँग लड्न सक्ने बनाउन नियमित क्षमता विकासका कार्यक्रमको खाँचो रहेको पनि देखाए। उनले भने, ‘यो पेशामा लाग्नेले दिन र रात भन्न पाउँदैन। आफ्ना व्यक्तिगत र पारिवारिक प्राथमिक काम गर्न पाउँदैन। यति सबै क्षेत्रमा सम्झौता गरेर आगो नियन्त्रण गर्न खटिने जनशक्तिलाई नीतिगत व्यवस्थाबाटै प्रोत्साहित गरिनुपर्छ।’

तालिममा काठमाडौं महानगरका ६ नगर प्रहरी, सशस्त्र प्रहरीका चार र डडेलधुराको अमरगढी नगरपालिकाबाट चार गरी १४ अग्नि नियन्त्रक सहभागी थिए। तालिममा आगोको विज्ञान र प्रकार, आगो नियन्त्रण गर्ने उपकरण र विधि, आगलागीका समयमा अपनाउनु पर्ने सावधानी, धुँवा भरिएको स्थानमा अग्लो स्थानमा आगो नियन्त्रण गर्ने सीप, आत्मसुरक्षाका सामग्री र सीपसँगै खोज तथा उद्दारको आधारभूत सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो। तालिममा प्रयोगात्मक अभ्यास पनि गराइएको थियो।

चालू आर्थिक वर्षमा सय आगलागी
चालू आर्थिक वर्षमा सय स्थानमा आगलागी भएको छ। जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख लीलाराज गाछाले आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ६० आगलागी भएको बताए। आगलागीबाट चार जनाले ज्यान गुमाएका थिए। उनका अनुसार विद्मुतीय तारकै कारण उपत्यकामा आगलागी हुने गरेको छ। ‘उपत्यकाका घरमा राम्रोसँग वाइरिङ नगरिँदा बढी आगलागी भएको छ,’ उनले भने। उनले बिजुलीको तार गुणस्तरीय प्रयोग गर्नुपर्ने, तार मजबुत तरिकाले जोड्नुपर्ने तथा लाइटर र सलाइ बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्ने बताए।

उनले पिक आवरमा आगलागी भएका ठाउँमा दमकल पुर्याउन समस्या भएको बताए। जुद्ध बारुण यन्त्र कार्यालयका अनुसार हाल त्यहाँ तीन दमकल छन्। दुई वटा ल्याडर छन्।

प्रकाशित: ३ मंसिर २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App