![शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित](https://images.nagariknewscdn.com/thumbs/third-party/1720194528_FNJ-1-600x400.jpg)
कालापानी र लिपुलेक हडप्ने भारतीय नक्साविरुद्ध अनेरास्ववियूको प्रदर्शन
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/Annsfu_Protest_20191106165900-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5dc2ab1d341d6-1200x560-wm.jpg)
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै बुधबार अपरान्ह काठमाडौंमा प्रदर्शन गरेको हो। त्यसक्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग पनि खबरदारी गरेका छन्। नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिए।
काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले सम्बोधन गरेका थिए। उनीहरुले सरकारले अविलम्ब नक्सा सच्याउन कुटनीतिक पहल गर्नुपर्ने अन्यथा सरकार कुन पार्टीको छ भनी हेरेर नबस्ने चेतावनी दिए। ‘कुटनीतिक पहलबाट समाधान भएन भने सडक तताउँछौं’, उनीहरुले भने।
प्रदर्शनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, गो व्याक इन्डिया’ जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए।
भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ। त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5dc2ab1d341a1-1200x560-wm.jpg)