coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई

काठमाडौं – नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय पदाधिकारीलाई अधिकार दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ।

पार्टीका कार्य सम्पादन र संसदीय समिति समिति गठन नहुँदा केन्द्रीय समितिबाट उम्मेदवार छनोटको अधिकार लिनुपरेको हो। बैठकमा महामन्त्री शशांक कोइरालाले पार्टी विधानको धारा ३२ को ८ (घ) र (ङ) बमोजिम कार्य सम्पादनका लागि पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावपछि बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद, महेन्द्र यादवसहितका नेताहरुले धारणा राखेका थिए। केन्द्रीय सदस्य आचार्यले विधानअनुसार संसदीय समिति गठन गरेर त्यसले नै उम्मेदवार छनोट गर्नुपर्ने धारणा राखेका थिए।

तर निर्वाचनको मिति नजिकिएकाले तत्काल समिति गठन गरेर उम्मेदवार छनोट गर्न सम्भव नरहेको भन्दै पदाधिकारीबाट उम्मेदवार छनोट गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो। आइतबार पदाधिकारी बैठक बसेर उम्मेदवार छनोट गर्ने समझदारी भइसकेको छ। मंसिर १४ मा प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर, बाग्लुङ र दाङका एकएक क्षेत्रसहित ५२ पदका लागि निर्वाचन हुँदैछ।

बैठकले सुनसरीको धरान उपमहानगरपालिका प्रमुख पदका लागि तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट राईको नाम सिफारिस भई आएपछि बैठकले उनलाई अनुमोदन गरेको हो।
यसैबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्न विलम्ब गरेको र फेरि पनि ३२ वर्ष माथिकालाई नेतृत्व दिन लागेको भन्दै संघका नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा नाराबाजी गरेका थिए।

बैठकमा सहभागी हुन सभापति देउवा पुग्दा पनि विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए। त्यसप्रति देउवाले असन्तुष्टि जनाएका थिए। सभापति देउवाले राजीव ढुंगानाको नेतृत्वमा संघको महाधिवेशन आयोजक समिति गठन गर्न लागेकोप्रति विद्यार्थी नेताहरुले असन्तुष्टि जनाउँदै ३२ वर्ष तलकैबाट नेतृत्वमा ल्याउनुपर्ने माग गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App