दाङ – प्रदेशसभा सदस्यका लागि दाङ–३ (ख) मा १४ मंसिरमा हुने उपनिर्वाचनको तयारीमा दलहरू सक्रिय भएका छन्। प्रमुख दलहरूले आ–आफ्ना सम्भावित उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेका छन्। उम्मेदवार सिफारिससँगै दलहरूले मतदातासँग निकटतासमेत बढाउन थालेका छन्। सत्तारूढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको यो क्षेत्रमा दुवै दल आफ्नो पुरानो विरासत जोगाउन सक्रिय छन्।
नेकपाले तीनजना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। सिफारिस तीनजनामध्ये तत्कालीन प्रदेश सांसद उत्तरकुमार ओलीकी पत्नी विमलालाई नेकपाले पहिलो प्राथमिकतामा राखेको छ। तत्कालीन एमालेबाट निर्वाचित सांसद ओलीको निधन भएपछि यो क्षेत्र रिक्त रहेको हो। विमलालाई उम्मेदवार बनाएमा नेकपाले सहजै चुनाव जित्ने चर्चा नेकपा कित्तामा चलिरहेको छ। विमलालाई सहानुभूतिको भोट पनि आउने बुझाइ नेकपाको छ। नेकपाले विमलासँगै शोभाराम बस्नेत र चूर्णबहादुर ओलीको नाम पनि सिफारिस गरेको छ।
नेकपा जिल्ला अध्यक्ष टीकाराम खड्काका अनुसार पार्टी केन्द्रीय कमिटीले कात्तिक १५ गतेभित्र तीनजनामध्येबाट उम्मेदवारको नाम टुंगो लगाइसक्नेछ। ‘हामीले जिल्लाबाट तीनजना सम्भावित उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेका छौं, प्रदेश कमिटी हुँदै केन्द्रमा पुग्ने ती नाममा १५ गतेभित्र निर्णय भइसक्ने छ,’ उनले भने, ‘उम्मेदवार सिफारिससँगै हामी गाउँकेन्द्रित भएका छौं।’
प्रदेशसभा निर्वाचन २०७४ मा प्राप्त विजयी मतलाई नेकपाले यो उपनिर्वाचनमा पनि सुरक्षित पार्न चाहन्छ। कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो नै चुनाव जित्ने या हार्ने भन्नेमा निर्णायक बन्ने विश्लेषण कांग्रेसीजनले गरिरहेका छन्।
यसैगरी कांग्रेसले १४ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। बढीमा तीनजनाको मात्रै नाम सिफारिस गर्नुपर्ने कांग्रेसको नीति रहे पनि आकांक्षीको संख्या बढेपछि संख्या १४ पुगेको हो। सिफारिस हुनेमा कांग्रेसका पुराना नेता केशव आचार्य, जिल्ला सचिव शंकर डाँगी, सुरेश हमाल, किरण शाह, खिमप्रसाद खराल, चूडामणि ढकाल, जगत खड्का, भरत केसी, मदन रसिक, टीका घर्ती, घनश्याम सेर्पाइली, चल्ता चौधरी, गीता पौडेल र तारा भण्डारी छन्। यीमध्ये जिल्ला सचिव डाँगी बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन्। दाङको पश्चिम क्षेत्रमा रहेको यो निर्वाचन क्षेत्रमा डाँगीको प्रभाव राम्रो रहेकाले कांग्रेसले उनलाई नै टिकट दिन सक्ने अनुमान कांग्रेसीजनले काटिरहेका छन्।
यसैगरी कांग्रेसका आचार्य पनि उक्त क्षेत्रमा राम्रो प्रभाव जमाउन सकेका नेताका रूपमा चिनिएका छन्। उनीसँगै हमाल पनि टिकटका अर्का सम्भावितमध्येमा पर्छन्। कांग्रेसले पनि उम्मेदवार सिफारिससँगै चुनावी रणनीतिको तयारी गरिरहेको छ। अब जिल्ला समितिको बैठक बसेर चुनावी कार्यक्रम तय गरिने कांग्रेस जिल्ला सचिव डाँगीले जानकारी दिए। ‘उम्मेदवार सिफारिससँगै चुनावी रणनीतिको कार्यक्रममा लागेका छौं,’ उनले भने, ‘अब जिल्ला समितिको बैठक बसेर कसरी र कस्ता कार्यक्रम लिएर गाउँ जाने भन्ने विषयमा निर्णय गर्नेछौं।’
यस्तै राप्रपाले उम्मेदवारका लागि एकजनाको नाम मात्रै सिफारिस गरेको छ। उसले भूपाल रावतको नाम सिफारिस गरेको हो।
मंसिर १४ मा दाङ–२ (ख) मा हुने प्रदेशसभा उपनिर्वाचन यहाँका प्रमुख राजनीतिक दलहरूका लागि प्रतिष्ठाको लडाइँ बन्ने भएको छ। सत्तारूढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका लागि यो निर्वाचन आफ्नो ‘साख’ जोगाउन चुनौतीका रूपमा खडा भएको छ। प्रदेशसभा निर्वाचन २०७४ मा प्राप्त मतलाई नेकपाले यो उपनिर्वाचनमा पनि सुरक्षित पार्न चाहन्छ।
यस्तै कांग्रेसलाई अघिल्लो चुनावमा गुमाएको जनमतलाई आफूअनुकूल बनाएर पकड बढाउनुपर्ने चुनौती छ। कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो नै चुनाव जित्ने या हार्ने भन्नेमा निर्णायक बन्ने विश्लेषण कांग्रेसीजनले गरिरहेका छन्। यो निर्वाचन क्षेत्र कांग्रेसको पुरानो गढका रूपमा चिनिँदै आएको छ। अझ विशेषतः कांग्रेस नेता खुमबहादुर खड्काले पटकपटक जित्दै आएको यो क्षेत्रलाई कांग्रेसले आफ्नो पकड क्षेत्रका रूपमा चिन्दै आएको छ। २०४८ सालको संसदीय चुनावयता हेर्ने हो भने कांग्रेसले दुईपटक मात्रै यो क्षेत्रबाट आफ्नो जनमत गुमाएको देखिन्छ। कुल तीन निर्वाचन क्षेत्र रहेको दाङको ३ नम्बर क्षेत्रमा कांग्रेस नेता खुमबहादुर खड्का विजयी भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनैले यसै क्षेत्रबाट चुनाव जितेका थिए। लगातार दुईपटक निर्वाचन जितेको यो क्षेत्रमा २०५६ मा पनि जितेर कांग्रेसले ह्याट्रिक पूरा गरेको थियो। २०५६ को संसदीय निर्वाचनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा भने कांग्रेसको जनमत ह्वात्तै खस्कियो। तत्कालीन एकीकृत नेकपा माओवादीले जिल्लाका चारै निर्वाचन क्षेत्रमा एकल पकड जमायो। त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई पाखा लगाएर माओवादीकी सुष्मा शर्मा घिमिरे विजयी भएकी थिइन्।
पहिलो संविधानसभा निर्वाचनमा गुमेको जनमतलाई कांग्रेसले चार वर्षपछि पुनः फर्कायो। दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्रमा उम्मेदवार दोहोरिएका गिरीले आफ्ना निकटतम प्रतस्पर्धी नेकपा एमालेका उत्तरकुमार ओलीलाई पाखा लगाएका थिए। पछिल्लो संविधानसभा निर्वाचनमा जनमत आफ्नो पक्षमा पारेको कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आएर पुनः जनमत गुमायो। प्रतिनिधिसभा सदस्यका लागि यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट भिडेका गिरी तत्कालीन नेकपा एमालेका हीराचन्द्र केसीबाट पराजित भए। यसैगरी यो क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्रबाट कांग्रेसका बुद्धिराम भण्डारी साढे ६ हजार मतान्तरले पराजित भए। तत्कालीन नेकपा एमालेकै उत्तरकुमार ओली यो प्रदेशसभा क्षेत्रबाट विजयी भएका थिए। २०७४ सालमा यो निर्वाचन क्षेत्रमा तत्कालीन एमालेका ओली कांग्रेसका प्रतिस्पर्धी भण्डारीभन्दा साढे ६ हजार मतान्तरले विजयी भएका थिए। कुल खसेको ४२ हजार ६ सय ४९ मतमध्ये ओलीले २३ हजार ९ सय ७० र कांग्रेसका भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए। पश्चिम दाङको विकट क्षेत्र मानिने यो क्षेत्र मूलतः भौतिक पूर्वाधारको हिसाबले पछि परेको क्षेत्रका रूपमा चिनिन्छ।
प्रकाशित: १४ कार्तिक २०७६ ०३:०८ बिहीबार