६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा ढुक्क, कांग्रेस लालकिल्ला ढल्ने आशामा

विराटनगर – प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको छ। प्रदेश १ मा सत्तारुढ दल नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अहिले राजनीतिक दलहरू उम्मेदवारको नाम टुंग्याउने अभियानमा रहेका छन्।

धरानमा नेपाली कांग्रेस र समाजवादी पार्टीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन्। यस्तै, संघीय लिम्बुवान मञ्चले पनि उम्मेदवार सिफारिस गरिसकेको छ भने एकजना स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। नेकपाबाहेक अन्य दलसँग गठबन्धनको प्रयास गर पनि कांग्रेसले धरान उपमहानगर कमिटी सभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। अहिले कांग्रेस उम्मेदवार राईसहित चुनावी अभियानमा जुटिसकेको छ। यस्तै, समाजवादीले पनि गजेन्द्र इस्वोलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ। समाजवादीले पनि चुनावी अभियान थालिसकेको छ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकामा चुनावी रौनक छाएको छ। राजनीतिक दलहरू धमाधम उम्मेदवार सिफारिस गर्न र चुनावी अभियान तीव्रता दिइरहेका छन्। सर्वसाधारण मतदाता पनि चुनावी सरगर्मी तथा चासो बढेको छ। धरानमा रिक्त रहेको मेयर र वडा नं ७ को अध्यक्ष पदमा उपनिर्वाचन हुदैछ। मेयर तारा सुब्बा र वडाअध्यक्ष भुवन मोक्तानको निधन भएपछि एक वर्षअघिदेखि यी दुवै पद रिक्त छ। निर्वाचन आयोगले धरान उपमहानगरसहित देशभर रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीयतहको वडा अध्यक्षसम्मको उपनिर्वाचन गर्ने तयारीलाई तीब्रता दिएसँगै ती क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारको आकांक्षी धेरै देखिएपछि धरानमा सत्तारुढ पार्टी नेकपालाई उम्मेदवार सिफारिश गर्न निक्कै गाह्रो भइरहेको छ। कार्तिक १० गतेभित्र धरानको उम्मेदवार माथिल्लो कमिटीमा सिफारिश गर्नुपर्ने पार्टीको निर्देशन छ। धरानमा सधै कम्युनिस्टले जित्दै आएकोले पनि नेकपाभित्र उम्मेदवार आकांक्षी धेरै छन्। नेकपामा साविक एमालेबाट जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश राई र प्रदेश कमिटि सदस्य विजय राई उम्मेदवारको दौडमा अघि छन्। यस्तै, चर्चामा साविक एमालेबाटै पुर्वमेयर मनोज मेन्याङबो, पदम लिम्बू, इन्द्र राईलगायत पनि छन्। नेकपाबाटै साविक माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघा, चोत्लुङ, अशोक राई पनि उम्मेदवारको वलिया आकांक्षी छन्। बेघा गएको स्थानीयतह निर्वाचनमा मेयरमा तेस्रो स्थान भएका थिए।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदी उम्मेदवार १० गतेभित्र सिफारिश गर्ने र चुनावमा सहज जित हासिल गर्ने बताउँछन्। ‘उम्मेदवार १० गतेभित्रै हामी सिफरिस गर्छौ। अहिले पार्टीको गतिविधि सबै चुनाव केन्द्रित नै छ, र यसपाली पनि हामी सहज जित्छौं,’ सुवेदीले भने। नेकपाले सहजरुपमा जित्ने आँकलन गरिरहदा नेपाली कांग्रेस पनि यसपालि लालकिल्ला ढाल्ने रणनीतिसहित चुनावी मैदानमा छ।

दुई पार्टीमा भावानात्मक एकता अझै भइनसकेको र नेकपा सरकारप्रति जनताको चरम असन्तुष्टी रहेको फाइदा कांग्रेसले पाउने सभापति तथा मेयरका उम्मेदवार तिलक राई बताउँछन्। कम्युनिष्टले निरन्तर जितेपनि धरान यथास्थितिमा नै भएकोले यसपाली जनताले परिवर्तनको पक्षमा भोट हाल्ने उनको अपेक्षा छ। ‘यहाँ सधै सबै चुनावमा कम्युनिस्टले जित्यो, तर विकास र समृद्धि केही हासिल भएन। जनता निराश छन्,’ उम्मेदवार राईले भने, ‘यसपालि जनता जागिसकेका छन् र यथास्थितिको पक्षमा होइन, परिवर्तनको पक्षमा कांग्रेसलाई भोट हाल्नेछन्।’

नयाँ १३ हजार मतदाता निर्णायक
सधै वामपन्थीले जित हासिल गर्दै आएकाले धरानलाई लालकिल्ला भन्ने गरिन्छ। यहाँ पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवारले जितेका थिए भने २०४६ को परितर्वनपछि सबै निर्वाचन कम्युनिस्टले जित्दै आएको छ। गएको स्थानीय तह निर्वाचन २०७४ मा छुट्टाछुट्टै चुनाव भिडेको तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएकोले मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच हुने पक्का छ। एकताले नेकपामा सहजै चुनाव जितिन्छ भन्ने आत्मविश्वास पनि छ।

गएको चुनावमा कुल खसेको ५३ हजार ५ स ४७ मतमध्येबाट ५२ हजार ४ सय ५५ मत सदर भएको थिया। सदर मतमध्ये एमालेबाट विजयी तारा सुब्बाले २० हजार ९ सय ७५ मत पाएका थिए। चुनावमा पराजित कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए भने तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए।

गएको २०७४ को चुनावमा धरानको कुल मतदाता ७९ हजार २ सय ८२ रहेको थियो। अहिले मतदाता संख्या बढेर ९२ हजार ८ सय ५३ पुगेको छ। यो मतदाता संख्या गएको चुनावको भन्दा १३ हजार ५ सय ७१ बढी हो। गएको चुनावमा एमाले र कांग्रेसबीचको मतान्तर ४ हजार ८ ७३ थियो। तर, अहिले एमाले र माओवादीबीच एकता भएकोले त्यसबेला माओवादीले पनि पाएको मत जोड्दा मतान्तर १६ हजार ५३ पुग्छ। त्यसैले पनि नेकपा आउदो उपनिर्वाचनमा जित हासिल गर्नेमा ढुक्क भएको देखिन्छ।

तर, त्यसबेला माओेवादीले संघीय समाजवादीलाई उपमेयर दिएर गठबन्धन गरेको थियो। उपमेयरमा ५ हजार हाराहारी मत समाजवादीले पाएको थियो। तसर्थ, माओवादीका बेघाले पाएको मतमा समाजवादीको मत घटाउदा भने नेकपा र कांग्रेसबीचको मतान्तर अझै कम हुन्छ। त्यसैले नयाँ थप भएको १३ हजार मतदाता आउदो निर्वाचनमा निर्णायक हुने देखिन्छ। तर, महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिकशास्त्रका प्राध्यापक डा.अमृतकुमार श्रेष्ठ नयाँ थपिएका मतदाता सबैतिर बाँडिने भएकोले अनुमान लगाउन गाह्रो हुने बताउँछन्। ‘नयाँ मतदाता सबैतिर बाँडिन सक्छ। नेकपाले को उम्मेदवार बनाउछ, त्यसमा पनि भरपर्छ,’ श्रेष्ठले भने, ‘दुईतिहाइको केन्द्र सरकार, प्रदेश सरकार र धरानकै पनि काम जनताले चित्त बुझाइरहेको छैन, कांग्रेसले यसैलाई भजाउन सक्ने पनि देखिन्छ। मेरो नजरमा चुनाव कडा प्रतिस्पर्धा हुन्छ, र झिनो मतान्तरण मात्र आउँछ।’

पाँचथरमा प्रचार धेरै
पाँचथरका तीन स्थानमाहुने उपनिर्वाचनको सरमर्गी बढ्न थालेको छ। यहाँका राजनीतिक दलले उम्मेदवार टुंग्याउनथालेपछि चुनावी चहलपहल टोलटोल पुगेको छ। सानादेखि ठूला चुनावी कार्यक्रम अघि बढ्न थालेका हुन्। यहाँको फाल्गुनन्द गाँउपालिका प्रमुख, फिदिम वार्ड न. १ को वडाध्यक्ष र हिलिहाङ–७ को वार्ड अध्यक्ष्य पदका लागि निर्वाचन हुँदैछ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले तीनै तहमा उम्मेदवार टुंग्याएको छ। सचिवालयको बैठकले तीनै स्थानका लागि उम्मेदवार टुंग्याएर सिफारिस गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज इन्द्रबहादुर आङ्बोका अनुसार फाल्गुनन्द गाँउपालिका प्रमुखमा वीरबहादुर कुरुम्बाङ, फिदिम १ नम्बर मागजाधार भट्टराई र हिहिहाङ–७ का लागि गेहनाथ रिजाल सिफारिस भएका छन्। कुरुम्बाङ फाल्गुनन्द गाँउपालिकाका यसअघि पराजितउम्मेद्वार हुन। यस्तै भटराई पनि फिदिम १ मा वार्ड अध्यक्ष पदमा पराजित उम्मेदवार हुन्। तीनै तहका उम्मेदवार पूर्वनेकपा(एमाले)का नेता परेका छन्। फाल्गुनन्द गाँउपालिकाको प्रमुखमाजिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई उम्मेद्वार बनाएको छ। हिलिहाङ–७मातिलविक्रमइधिङ्गोलाई उम्मेद्वार बनाएको छ। फिदिम–१ माउम्मेद्वार टुङ्गो लाग्नबाँकि रहेको छ। तिहारपछिमात्र टुङ्गो लाग्ने सभापति केरुङले जानकारी दिए। नियमितकार्यक्रमहरु अघि बढाइएको केरुङले बताए।

यस्तै, संघिय समाजवादि पार्टील पनिउम्मेद्वार टुंग्याएको केन्द्रीय सदस्यमुकुम नेम्बाङले जानकार दिए। फाल्गुनन्द गाँउपालिका प्रमुखमा विमला नेम्बाङ आङदेम्बेलाई उम्मेदवार बनाउन लागिएको उनले जानकारी दिए। नेम्बाङका अनुसार फिदिममा गौरव लामा र हिलिहाङमा धिरेन यक्पाङदेन उम्मेदवार बन्दैछन्। राप्रपाले फिदिम १ मा मिलनगिरीलाई उम्मेदवार बनाएको छ। राप्रपा संयुक्तले फाल्गुनन्द गाँउपालिका प्रमुखमा घनेन्द्र चेम्जुङलाई उम्मेदवार बनाउन लागेको छ।

अघिल्लो निर्वाचनमा फाल्गुनन्द गाँउपालिका प्रमुख र फिदिम १ को वार्ड अध्यक्षमा नेपाली कांग्रेस र हिलिहाङ–७ मा तत्कालीन एमालेले जितको थियो। फाल्गुनन्द गाँउपालिका प्रमुख अमर नेम्बाङको २०७५ माघ २६ गते निधन भएको थियो। यस्तै फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोक्तानको २०७६ साउन ६ गते र हिलिहाङ–७ का वडाध्यक्ष तीर्थराज तिम्सिना २०७४ चैत १६ मा निधन भएको थियो।

२०७४ सालको चुनावको मत परिणामलाई हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र काग्रेस मुख्य प्रतिस्पर्धी देखिन्छ। तर सोही मत परिणाम हेर्दा साना दल निर्णायक देखिएका छन्। जिल्ला निर्वाचन कार्यालयको अन्तिम नामावली अनुसार फाल्गुनन्दमा १६ हजार ५ सय ७७, फिदिममा ३ हजार ६७६ र हिलिहाङमा २ हजार ६ सय मतदाता रहेका छन्।

यसअघिको स्थानीयतहको निर्वाचनमा फाल्गुनन्द गाँउपालिकामा नेम्बाङले ४ हजार १ सय ६३ मतप्राप्त गरेर विजयी भएकाथिए। उनका निकटम प्रतिद्वन्दीतत्कालिनएमालेकाविर बहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७मतप्राप्त गरेका थिए। जो अहिले पनि उम्मेदवार रहेका छन्। यस्तै तत्कालिननेकपा (माओवादी) केन्द्रका ठाकुर सिंह नेम्बाङले ७ सय ४४ मतप्राप्त गरेका थिए। साबिकको दुवै पार्टीको मत जोड्दा काग्रेस ५२ मतले अगाडि देखिन्छ। यहाँ संघीय समाजवादिले ४ सय ९०, राष्ट्रिय जनमुक्तिले ३ सय ११, राप्रपाले २ सय ३४ मतप्राप्त गरेका थिए। यहाँ काग्रेस जित जोगाउन र नेकपा जित निकाल्ने ध्याउन्नमा रहेको छ। यहाँ काग्रेसले बहुमतसहित जित निकालेको थियो।

संखुवासभामा पनि चुनावि चहलपहल
उपनिर्वाचनको मिति नजिकिएसँगै संखुवासभामा पनि चहलपहल सुरु भएको छ। संखुवासभाको मकालु गाउँपालिका र खादवारी नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचन हुने भएको हो। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको भएको थियो। तत्कालीन नेकपा एमालेका खड्ग कटुवाल १७ सय १२ मत ल्याएर निर्वाचित भएका थिए। उनको निकटतम प्रतिस्प्रर्धी स्वतन्त्र उमेदवार टासी शेर्पाले १२ सय ५५ मत ल्याएका थिए। उनी कांग्रेसका बागी उम्मेदवार थिए। एकतापछि बनेको नेकपाको मत २५ सय ६७ हुन्छ भने बागीसहितको मत जोड्दा कांग्रेसको मत पनि २१ सय ८० रहेको छ। यस पटकको उपनिर्वाचनमा साना दलले खासै चासो देखाएका छैनन्।

प्रकाशित: १४ कार्तिक २०७६ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App