१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

चीनको ७० वर्षे प्रगति

बेइजिङ – गणतन्त्र स्थापनाको ७०औं वर्षगाँठका अवसरमा गत अक्टोबर १ मा चीनले तियानमेन स्क्वायरमा सैनिक परेड, सांस्कृतिक झाँकी, विदेशी पाहुना तथा चिनियाँहरूसहितको रात्रिभोजजस्ता आकर्षणलाई समेटेर भव्य समारोह आयोजना ग-यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापारिक विषयहरूको भइरहेको उच्च तनावको पृष्ठभूमिमा यो कार्यक्रम राष्ट्रवादी आकांक्षाको प्रतिबिम्ब रह्यो। चीनले खुसी मनाउने धेरै कुरा छन् तर उसले गर्नुपर्ने काम पनि उत्तिकै धेरै छन्।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको पहिलो ३० वर्ष ग्रेट लिप फरवार्ड र सांस्कृतिक क्रान्तिका कारण त्यति सुखद मानिँदैन। तर यी दशकहरू यतिकै खेर गएको मान्न पनि सकिन्न। यो अवधिमा राष्ट्रिय तथा स्थानीय पावर ग्रिडको स्थापना, औद्योगिक क्षमताको अभिवृद्धि र मानवीय पुँजीको सबल परिचालनका कारण चीन आधुनिकीकरणको चरणमा प्रवेश गर्न सक्यो।

यिनै कारणले चीनले मानव विकास सूचकांकहरूमा उल्लेख्य प्रगति ग-यो, जुन त्यतिबेला भारतको ७० वर्षअघिको सूचकांकहरूको हाराहारीमा थियो। सन् १९४९ देखि १९७९ मा चीनको साक्षरता २० प्रतिशतबाट ६६ पुग्यो भने सरदार आयु ४१ बाट उक्लेर ६४ वर्ष पुग्यो। यी सबै उपलब्धिले डेङ स्याओपिङको सुधार र खुलापनको नीतिका लागि पृष्ठभूमि निर्माण गरेको थियो, जसअन्तर्गत चीनले पछिल्ला ४० वर्षमा तीव्र आर्थिक वृद्धि र समग्र विकास गर्न सक्यो।

हाल आएर चीनले गर्नुपर्ने काम धेरै छन्। तर चिनियाँ नेताहरूले असमानता घटाउने, वातावरण विनाश रोक्ने तथा अर्थतन्त्रलाई पुनःसंरचना गर्नेजस्ता विषयलाई महत्व दिएको देखिन्छ। उनीहरू सफल हुन र चिनियाँ विकास मोडललाई पश्चिमेली उदार प्रजातन्त्रको विकल्पमा रूपमा प्रस्तुत गर्न आगामी वर्षहरूमा दुईवटा कुरामा जोड दिनैपर्छ।

पहिलो, प्रतिव्यक्ति आयको उच्च अवस्थामा चीन पुग्नैपर्छ। हालसम्म चीनले आफ्नो बजारको ठूलो आकार र छिटो आर्थिक अभिवृद्धिले आयआर्जनमा सुधार गरेको हो। तर यो स्थिति अर्थतन्त्रमा मात्र सीमित छैन, हालको १० हजार अमेरिकी डलरबराबरको प्रतिव्यक्ति आयलाई ३० हजारमा पु-याउने आमचिनियाँ चाहना पूरा गर्न चीनका संस्थाहरू, प्रविधि र विद्यमान सोच उत्तिकै जोडिएका विषय हुन्।

दोस्रो, चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई अगाडि बढाउनुपर्ने हुन्छ। त्यसका लागि दिगोपन नभएका ऋणहरूको स्थितिमा नपु-याउन कम लागतका समावेशी कार्यक्रम र वातावरणलाई त्यति प्रभाव नपार्ने पूर्वाधारको निर्माण महत्वपूर्ण हुन्छन्।

यी दुवै उद्देश्य पूरा गर्न त्यति सजिलो छैन, विशेषगरी चुनौतीपूर्ण बाह्य स्थितिको परिप्रेक्ष्यमा। चीनले आफ्नो राष्ट्रिय दिवस मनाइरहँदा अमेरिकालगायतको बाह्य विश्व भने प्रविधि र भू–राजनीतिक हिसाबले विश्वको अग्रणी नेतृत्वमा चीन स्थापना हुने चिन्तामा छन्।

जब समुद्रमा ठूलो जहाजले आफ्नो गति लिन्छ, जतिसुकै राम्रोसँग यसलाई हाँके पनि यसबाट उत्पन्न छालले अरू डुंगाहरूलाई तरंगित र चिन्तित पार्छ नै। चीनले सुरु गरेको यो अग्रगमनलाई अन्य राष्ट्रले सहज र शान्त हिसाबले लिने स्थितिको सिर्जना गर्नु चीनका निम्ति चुनौतीपूर्ण छ। यसका लागि सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने चीनले बाह्य विश्वसँग खुला र प्रस्ट हिसाबलाई संवाद गर्नुपर्छ।

तर सबै समस्या चीनका मात्र छैनन्। पश्चिमेली नेताहरूले पनि चीनको प्रयासलाई बुझ्न आवश्यक छ। चीनले विश्वलाई आफ्नो शान्त उदयका लागि आश्वत पारेको छ। उन्नाइसौं शताब्दीको अमेरिकाले जुनसुकै हिसाबले पनि आफ्नो वर्चस्व र प्रभुत्व निभाएका थियो तर देङको उदयपछि चीनले आफ्ना सीमासबन्धी विवादको शान्तिपूर्ण तवरले समाधान गर्दै आएको छ। रुससँगको सीमा विवाद समाधान गर्न चीनलाई ११ वर्ष लागेको थियो।

यसो हुँदाहुँदै पश्चिमेली मुलुक र एसियामा समेत चीनका बारेमा आशंका गर्ने गरिन्छ, जसले पक्कै राम्रो नतिजा दिँदैन। अल्बर्ट कामुले भनेका छन्, ‘गलत विचारहरूको रक्तरञ्जित अन्त्य हुन्छ तर हरेक स्थितिमा त्यो रगत अरू कसैको हुन्छ। त्यसैले हाम्रा चिन्तकहरू जेसुकै भन्न हिच्किचाउन्नन्।’ युद्धको जालोमा नफस्न पश्चिमा राजनेता तथा प्राज्ञहरूले उदाउँदो चीनसँग विवाद अपरिहार्य हुने गलत सोचबाट बाहिर आउनु नै पर्छ। हामीले ससाना विवादहरू पनि कसरी विश्वमा ठूला संकटमा रूपान्तरण भए भन्ने तथ्यलाई भुल्नुहुँदैन।

विगतलाई हेर्ने हो भने पनि सन् १९९९ मा बेलग्रेडस्थित चिनियाँ राजदूतावासमा नाटोद्वारा गरिएको बम विस्फोट, २००१ मा चीन र अमेरिकी जहाजहरूको हेनान द्वीपमा भएको टकरावलाई शान्तिपूर्ण तवरले समाधान गरिएको थियो। यसो हुँदाहुँदै पनि चीनप्रतिको असहिष्णुताले आगामी दिन कसरी अगाडि बढ्छन्, अड्कल गर्न त्यति सजिलो छैन।

पछिल्लो ७० वर्षमा चीनको कम्युनिस्ट पार्टीले शीघ्र प्रगति त ग-यो तर यो मध्यमस्तरको समृद्धिमा मात्र सीमित रह्यो। अब चीनले आयको स्तरमा अभिवृद्धि र बिआरआईको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ। यसका लागि शान्त र स्थिर पृष्ठभूमिको आवश्यकता पर्छ भन्ने विषय चिनियाँ नेतृत्वले बुझेका छन् तर उनीहरूले पश्चिमा राष्ट्रहरूलाई पनि यो कुरामा आश्वस्त पार्न सक्नुपर्छ।
लेखक जिन लन्डन स्कुल अफ इकोनोमिक्सको प्रोफेसर र वल्र्ड इकोनोमिक फोरमका योङ ग्लोवल लिडर हुन्।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९

प्रकाशित: २५ आश्विन २०७६ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App