२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

मकवानपुर– प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।

हेटौंडामा जस्तै ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरिएको छ। पाँच स्थानका लागि एक करोड ८० लाख  रुपैंयाको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख निर्मल गदालले बताए। उनका अनुसार प्रयोगशालाले प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमुना परीक्षण गर्ने क्षमता रहेको छ। पाँच वटै प्रयोगशालाको लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालन सम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना युवा कृषि स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ।

यस्तै, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण घुम्ती प्रयोगशाला(बस) पनि हस्तान्तरण गरेको छ। हेटौंडाको माटो परीक्षण प्रयोगशालालाई हस्तान्तरण गरिएको घुम्ती प्रयोगशाला(बस) ८० लाख ९४ हजार रुपैंयाको खरिद गरेको हो। प्रतिदिन माटोको ३० नमुना परिक्षण गर्ने भ्यानबाट प्रदेशका वार्षिक रुपमा १२ हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले दाबी गरेको छ।

माटो परीक्षण प्रयोगशाला र भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण

सोमबारै प्रदेशका पाँच स्थानीय तहलाई माटो परीक्षण प्रयोगशाला स्थापना गर्नका लागि उपकरण र आवश्यक सामग्री हस्तान्तरण गरेको छ। भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँच स्थानको प्रयोगशालाका लागि एक करोड ५९ लाख ७९ हजार रुपैंयाको उपकरण, रसायन र सामग्रीहरु पठाएको हो।

मकवानपुरको मकवानपुरगढी र धादिङ्गको सिद्धलेक गाउँपालिका तथा काभ्रेपलाञ्चोकको पाँचखाल, चितवनको खैरहनी र नुवाकोटको विदुर नगरपालिकाका प्रमुख÷प्रतिनिधीलाई मुख्यमन्त्री पौडेलले उपकरण र सामाग्री हस्तान्तरण गरेका हुन्। प्रयोगशालाहरुले माटोको दैनिक न्यूनतम एक सय वटा नमुना परिक्षण गर्ने क्षमता रहेको छ।
यस्तै, प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार वटा भेटेरिनरी एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ। एम्बुलेन्सहरु मकवानपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि तथा वन विश्वविद्यालय चितवनलाई प्रदान गरिएको छ। करिब ३७ लाख रुपैयाँको दरमा एक करोड ४९ लाख १६ हजार रुपैंयामा खरिद गरिएको चार एम्बुलेन्समध्ये एउटा एम्बुलेन्सले एक पटकमा विरामी भएका दुई वटासम्म गाई वा भैसी वा पाँच वटासम्म बाख्रा बोक्न सक्ने क्षमता छ।

कृषिको विकास विना समृद्धि असम्भवः मुख्यमन्त्री पौडेल

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि क्षेत्रको विकास विना समृद्धि असम्भव भएको बताएका छन्। विषादी अवशेष परीक्षण प्रयोगशालाको सोमबार उद्घाटन गरेपछि उनले समृद्धिका लागि पाँच क्षेत्र महत्वपूर्ण रहेकोमा कृषि क्षेत्र सबैभन्दा महत्वपूर्ण र सम्भावित रहेको बताए।

‘समृद्धिका लागि पर्यटन, उद्योग, भौतिक विकास क्षेत्र पनि महत्वपुर्ण क्षेत्र हो’, उनले भने, ‘त्यसमध्ये मुलुकको आर्थिक क्षेत्रलाई अघि बढाउने कृषि नै सहज क्षेत्र हो।’ कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोगबारे धेरै कुरा भएपनि आयात नघटेकाले प्रदेश सरकारले कृषिमा बजेट बढाएको उनले दाबी गरे। ‘प्रयोगशालामा परीक्षण गरी नतिजा हेरेर बसेरमात्र हुँदैन’, उनले भने, ‘तरकारी, फलफूलमा विषादीको मात्रा उच्च पाईए उचित कदम चाल्नुपर्ने पनि हुन्छ।’

प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रयोगशाला, एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गरेमात्र उपलब्धी आउने भन्दै निरन्तर सञ्चालनका लागि कर्मचारीलाई निर्देशन दिए। ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सार्थक बनाउन कर्मचारीले भ्रष्टाचारबाट टाढै रहेर काम गर्नुपर्नेमा जोड दिदै अनुगमनका लागि जिल्ला समन्वय समितिले भुमिका खेल्न अनुरोध पनि गरे।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सचेतक रामेश्वर फुयाँलले कृषि क्रान्तिको आवश्यक्ता रहेको भन्दै चप्पल लगाउन नजान्ने र कार्यालयभित्र जुत्ता फुकाल्ने की नफुकाल्ने भनेर अल्मलमा पर्ने कृषकलाई पहिलो प्राथमिकता दिन कर्मचारीलाई आग्रह गरे। प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अमरबहादुर खड्का लगायतले समृद्ध प्रदेश बनाउन कृषि क्षेत्रमा प्रदेश सरकारको लगानी उदाहरणीय रहेको भन्दै आगामी दिनमा थप लगानी आवश्यक रहेको बताएका थिए।

प्रकाशित: २० श्रावण २०७६ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App