४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘विपिले देखाएको मार्गमा हिँडे कांग्रेसलाई कसैले जित्न सक्दैन’

बुटवल– नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवसमा सोमबार बुटवलमा शालिकमा माल्यार्पण तथा तिलोत्तमामा बृक्षारोपण गरिएको छ। काँग्रेस बुटवल नगरसमितिको आयोजनामा भएको कार्यक्रममा काँग्रेस नेताहरुले विपिको शालिकमा माल्यार्पण गर्दै पार्टीलाई बलियो बनाउन विपिका बिचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए।

बुटवलको अमरपथस्थित विपि चोकमा रहेको शालिकमा माल्यार्पण गर्दै काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले मुलुकमा कम्युनिस्ट सरकारको अधिनायकवाद र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गइरहेको अवस्थामा त्यसका बिरुद्ध पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए। विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई कसैले पछि पार्न नसक्ने सभापति रज्जाकको भनाई छ। 

कार्यक्रममा सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी, नगरसभापति खेलराज पाण्डे, बिमलराज भट्टराई, रामबहादुर कार्की, ज्योती भण्डारी, रमेश शाही लगायतले बोल्दै विपिले प्रतिपादन गरेका सिद्धान्त र देखाएको बाटोमा हिँडेर काँग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिए। 

त्यस्तै काँग्रेस जिल्ला कार्यसमितिले तिलोत्तमा १७ को विपि ग्राममा बृक्षारोपण गरेको छ। विपिको सम्झनामा ग्राममा एक सय बढी फलफुलका बिरुवा रोपिएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए। 

प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गरेका विश्वेश्वर प्रसाद कोइरालाको जन्म बिक्रम सम्बत १९७१ साल भदौ २४ गते  भएको थियो। जहानिया राणा शासनबिरुद्ध लड्न २००३ सालमा विपिकै नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो। २००७ सालको जनक्रान्तिको नेतृत्व विपिले नै गरेका थिए। विपि २०१५ सालमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने।  पहिलो संसदीय निर्वाचनमा उनी  बिराटनगरबाट बिजयी भएका थिए। २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले विपिको सरकार अपदस्थ गरेपछि उनलाई सिहंदरबारमै बन्दी बनाइएको थियो। एकमहिना पछि सुन्दरीजल बन्दी गृहमा सारियो। जेलमै बिरामी परेपछि २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागार मुक्त भएका थिए। त्यसपछिका ८ बर्ष भारतमा निर्वासनमा रहेर  प्रजातन्त्र पुनर्स्थापनाका लागि लडिरहे। २०३३ सालमा पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका विपिको २०३९ साल साउन ६ गते निधन भयो। आफ्ना संस्थापक नेता विपि कोइरालाको सम्झानामा काँग्रेसले साउन ६ गते देशैभरी बिभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ। कोइरालाको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान छ। उनका डेढ दर्जन कृति प्रकाशित छन्। 

प्रकाशित: ६ श्रावण २०७६ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App