महोत्तरी– नेपाली कांग्रेसका सभापति सहितको टोलीले महोत्तरीका बाढीले अति प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ। टोलीले महोत्तरीको बाढीले अति प्रभावित सदरमुकाम जलेश्वर, मटिहानी, एकरहिया र वर्दिवास लगायतको क्षेत्रको स्थलगत अवलोकन गरेको हो।
अनुगमनपछि जलेश्वरस्थित जलेश्वर नाथ महादेव मन्दिरमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारले समयमा राहत उपलब्ध नगराउँदा बाढी पीडित मारमा परेको बताए।
नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेर पनि बाढी पीडितका लागि आफूसहित नेपाली काग्रेसबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले आ आफ्नो तलबबाट भए पनि सहयोग गर्ने बताए।
बाढीपीडितहरुका लागि कांग्रेसका संघीय सासदले पाँच दिन र प्रदेश सांसदले १० दिनबराबरको तलब दिने घोषणा गरि सकेको जानकारी पनि देउवाले गराए। उनले अब बस्ने प्रतिनिधिसभा बैठकमा बाढीपीडितको पुनस्र्थापना र राहतका लागि जोडदार आवाज उठाउने पनि बताए। प्राकृतिक प्रकोपमा परेका जनताप्रति सरकार अलिकति पनि संवेदशील नदेखिको उनको आरोप छ।
रातु र विग्ही नदीको बाँध भत्केर जिल्लाका १५ स्थानिय निकाय मध्ये १४ स्थानीय तहका सबै गाउँ बाढी र डुबानको चपेटामा परेकाले प्रभावितको उद्धार के कसरी गर्नेमा नेपाली कांग्रेसका नेता कार्यक्रतालाई सक्रिय हुन उनले अनुरोध गरे।
‘तपाई सबै जना सक्रिय भएर यथासम्भब सबैको सहयोगमा जुटनुस’, सभापति देउवाले भने, ‘पीडितको नाम नै सङ्कलन गर्दा तल माथि गरेको ठाउँमा जनता असन्तुष्ट हुन सक्ने भएकोले त्यस्तो गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बनेर अहिले पीडितको अवस्था बुझेर सहयोग गर्ने कार्यमा राजनीति नगर्र्नुस।’
महोत्तरी जिल्लाको विभिन्न स्थानीय तह भित्र बाढीको कहरबाट ठूलै जनधनको छती भएको छ भने ६ जना वालवालिका सहित ७ जनाको मृत्यु भइसकेको छ।
प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास पुगेका सभापति त्यस पछि एकरहिया, मटिहानी हुँदै सदरमुकाम जलेश्वर आइपुगेका थिए।
नेका सभापति मटिहानी आइ पुग्दा मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले एक कार्यक्रमको आयोजना गरेर आफनो नगर क्षेत्र भित्रका बाढी पीडितहरुको अवस्थाबारे जानकारी गराएका थिए।
अहिले आफू बाढी पीडितको अवस्था वुझन आएको र फर्केर गएलगत्तै सरकार र विभिन्न दातृ निकायसंग समन्वय गरेर बाढी पीडितलाई राहत र पुनर्स्थापनाको लागि पहल गर्ने आश्वासन नेका सभापति देउवाले दिएका छन्।
स्थलगत अनुगमा निरीक्षण टोलीमा सभापति देउवा सहित कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना, किरण यादव, पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सहभागी थिए।
प्रकाशित: २ श्रावण २०७६ १५:०९ बिहीबार