८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एउटा घरमा तीनपटक पुग्नुस् : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।

अब हुने तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्ने बताउँदै सभापति देउवाले थपे, ‘जनता भन्दा सर्वोपरी कोही छैन। एउटाको घरमा तीनपटक पुग्नुस् अनि समस्यामा हातेमालो गर्नुहोस्।’ पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयासलाई कमजोरीका रूपमा प्रस्तुत गर्न खोजिएको गुनासो पनि देउवाले गरे। पार्टीको विभागसहितका रिक्त रहेका संरचना गठन गर्न पटकपटक नाम माग्दा पनि अर्को पक्षले नदिएको आरोप लगाउँदै देउवाले अब धेरै समय नकुर्ने दाबी गरे। असार २२ गतेभित्र भ्रातृ संगठनसहितका विषयमा सहमति जुट्न नसके विधानअनुसार अघि बढ्ने बताउँदै सभापति देउवाले भने, ‘मैले धेरै कुरे २२ गतेसम्म पनि सहमति भएन भने विधानअनुसार अघि बढ्छु।’

पार्टी विधान र देश संविधानअनुसार चल्ने जिकिर गर्दै सभापति देउवाले पार्टीका सबै भ्रातृ संगठनलाई चलाएमान बनाउने बताए। निस्क्रिय भ्रातृ संगठनका केन्द्रीय समिति विघटन गरेर अघि बढ्ने बताउँदै उनले पार्टीले चुनाव जित्नेगरी प्रशिक्षण दिन उपसभापति विमलेन्द्र निधिलाई निर्देशन दिए। तत्कालीन उपसभापति रामचन्द्र पौडेलले देशभरि प्रशिक्षण दिए पनि पार्टीले चुनाव हारेको स्मरण गराउँदै देउवाले बैठकमा भनेका थिए, ‘रामचन्द्रजीले जस्तो पार्टीले चुनाव हार्ने होइन जित्नेगरी प्रशिक्षण दिनुहोला।’

कार्यक्रममा प्रशिक्षण प्रतिष्ठान विभाग प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीय संरचना अनुसार पार्टीका निकायहरु गठनपछि मात्र १४औं महाधिवेशनको मिति घोषणा हुने बताए। पार्टीभित्रबाट १४औं महाधिवेशनको मिति घोषणा गर्न माग भइरहेकोतर्फ संकेत गर्दै निधिले भने, ‘अहिले नै महाधिवेशनको मिति घोषणा गर्ने कुरा केपी ओली नेतृत्व सरकारले रेल मार्गको डिपीआर नै नगरी केरुङबाट रेल ल्याउने कुरा गरे जस्तै भयो।’

महाधिवेशनको मिति अघि पार्टीको नियमावली निर्माण गर्नुको साथै संविधानको नयाँ व्यवस्था अनुसार सबै तहको संरचना बनाउनु पर्ने बताए। महामन्त्री शशांक कोइरालाले गुट उपगुटले पार्टी कमजोर बन्न पुगेको बताए। आम नेता तथा कार्यकर्ताको चाहना पार्टीभित्रको बृहत एकता रहेको बताउँदै कोइरालाले छलफलका क्रममा भने, ‘पार्टी बिग्रनुको कारण गुटउपगुट हो यसलाई अन्त्य गरेर अघि बढौं।’ दुई दिनसम्म चलेको छलफलमा ५५ जिल्लाका केन्द्रीय प्रतिनिधिले त्यहाँको अवस्थाको जानकारी गराउँदै केन्द्रमा रहेको गुटबन्दीको प्रभाव तल्लो तहसम्म परेकाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखेका थिए।

प्रकाशित: १३ असार २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App