५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी सांसद यादव पार्टीबाट निलम्बित

काठमाडौं– समाजवादी पार्टी नेपालले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ। तत्कालिन संघीय समाजवादी फोरमका तर्फबाट पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित यादव पार्टीलाई जानकारी नगराई लाटभियाको राजधानी रिगामा आयोजित ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएका थिए। 

पार्टी नीति विपरित ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई स्पष्टिकरण समेत सोधिएको थियो। स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठकले सांसद यादवलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। 

‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल अहमद पनि गएका थिए। सत्तारुढ दलकै सांसद फ्रि तिब्बत अभियानमा लागेपछि चीनले असन्तुष्टि जनाएको थियो। 

समाजवादी पार्टीको मंगलबारको बैठकले उपमहासचिव अधिकारीलाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी समेत दिएको छ। त्यसैगरी प्रचार विभागमा प्रशान्त सिंह सचिव तोकिएका छन्। अर्थ विभागमा विजयकुमार यादव कोषाध्यक्ष तोकिएका छन्। विज्ञ परिषद प्रमुखमा डा. पुष्पराज राजकर्णिकार र केद्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतमलाई नियुक्त गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App