काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढे पनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद सिंहले बजेटले जनतालाई उत्साह बनाउन नसकेको आरोप लगाएका हुन्। ‘भूकम्पले भत्काएको धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले प्रदेशमा ठूला कुरा गर्छु भनेको सुहाउँछ?’ सांसद सिंहले प्रश्न गरे, ‘काठमाडौं हिलो र धूलोको शहरमा परिणत भइरहेको छ, जनताले धूलोको मार खेपिरहेका छन, के सुधार भयो?’
काठमाडौं क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता सिंहले कमिसनको खेलका कारण मेलम्ची आयोजनालाई अलपत्र पारिएको आरोप लगाए। ‘मेलम्चीको कुरा व्यवस्था परिवर्तन भइसक्यो, ठेकेदार अन्तिम समयमा किन गयो? कमिसनको खेलबाट भागेर गयो’, उनले भने, ‘कहिले दशैंमा कहिले नयाँ वर्षमा आउँछ भन्नेरु खोइ त मेलम्ची आएको?’
उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राखे। संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको उनको भनाई छ। प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको सिंहले बताए। सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको उनको दाबी छ।
प्रकाशित: २३ जेष्ठ २०७६ ०८:२१ बिहीबार