८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

ताप्लेजुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटी गठन भएसंगै सांगठनिक असन्तुष्टि देखा पर्न थालेको छ।

जिल्ला तहको कमिटीमा स्थानीय तहका प्रमुखहरु पनि छुटेका छन् भने पुराना केहि व्यक्तिलाई समेत पाखा लगाईएको छ। स्थानीय तहमा पार्टी अध्यक्ष,सचिव,ईञ्चार्ज र सह इञ्चार्जको जिम्मेवारी पाईसकेकालाई फेरी दोहोरो जिम्मेवारी दिएर जिल्ला कमिटीमा ल्याईएको छ भने संगठनमा लामो समयसम्म योगदान गरेपनि जिम्मेवारी बिहिन बनाईको आक्रोश पोख्नेहरु पनि छन्।

पहुँच प्रयोग गरेर आफन्त र आफ्ना गुटकालाई स्थान दिएको भन्दै सामाजिक सञ्जालमा कमिटी गठन प्रति रोस समेत प्रकट भएका छन्। जिल्ला कमिटीमा फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेल,मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवा,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा),सिदिङ्वा गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङ,आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल,फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष फुलमाया लिम्बू र मैवाखोला गाउँपालिका उपाध्यक्ष कौशिला थत्लुङ लाई चयन गरिएको छैन। मञ्जु,कौशिला र फुलमायालाई गाउँपालिका तहका कमिटीमा आबद्ध गरिएपनि प्याकुरेल,साँवा,भट्टराई र ताम्लिङलाई कुनैपनि तहमा अटाईएको छैन। यि मध्ये धेरै तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका बखत जिल्ला सचिवालय सदस्य थिए भने केहि जिल्ला कमिटी सदस्य थिए। स्थानीय तहका कमिटीका मुख्य ४ पदमा रहेका यहाँका ९ स्थानीय तह कमिटीका ३६ जना नै जिल्ला कमिटीमा परेका छन्। यसले कसैलाई दोहोरो जिम्मेवारी दिइएको छ भने कसैलाई जिम्मेवारी बिहिन बनाएको भन्दै नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टी जनाउन थालेका छन्।

महिला र दलित वर्गलाई समेत भनेजस्तो जिम्मेवारी नदिएर पार्टीले न्याय दिन नसकेको असन्तुष्टी नेकपाको जिल्ला नेतृत्वका लागि टाउको दुखाईको बिषय भएको छ। धेरै शिक्षक तथा सरकारी कर्मचारी जिल्ला कमिटीमा अटाउँदा शिक्षकका नेताहरुले स्थान नपाउनु,पुराना कम्युनिष्ट कार्यकर्ता,शहिद परिवारका सदस्य र कम्युनिष्ट आन्दोलनका अग्रजहरुलाई अन्तरिम मानिएको यो जिल्ला कमिटिमा राखेर सम्मान दिन नसक्नु न्यायोचित नभएको भन्दै कार्यकर्ता तहले जिल्ला नेतृत्वको आलोचना गरेका छन्। अध्यक्ष र सचिव सहित १ सय ३७ जनाको जिल्ला कमिटीमा उपल्लो दुर्गम हिमाली क्षेत्र ओलाङ्चुङगोला समेतबाट प्रतिनिधित्व छुटेको छ। २२ जना मात्र महिला परेका छन् भने दलितको संख्या ११ रहेको छ। यसले समावेशी सिद्धान्तको आधारलाई सम्बोधन गरेको देखिदैन। यता,नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनमेले भने जिल्ला र स्थानीय तहमा छुटेका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्र समन्वय कमिटी,विभाग,प्रदेश परिषद् र जिल्ला सल्लाहका परिषद्मा समेटेर लैजाने योजना रहेको बताए । उनले कार्यकर्ता पंक्तिमा समस्या आउन नदिने गरी जिम्मेवार बाँडफाँडको योजना बनाईदै आएको समेत जानकारी दिए।

 

प्रकाशित: २ जेष्ठ २०७६ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App