५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

सिन्धुली– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरेका हुन्। नेकपा विप्लव समूहको भातृ संगठन ताम्सालिङ स्वायत्त प्रदेश उपप्रमुख रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार जिल्ला प्रहरी कार्यालय ल्याएपछि उनले आफू स्वतन्त्र रहेर व्यवसाय गर्न चाहँदा चाहँदै पनि बाध्यात्मक परिस्थितिले विप्लव समूहमा लागेको र आगामी दिनमा उक्त समूहसँग आबद्ध नरहने जनाएका थिए। 

‘म लामो समयदेखि नै नेकपा विप्लव समूहमा आबद्ध थिए’, उनले जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंह, प्रजिअ ढकाल र सञ्चारकर्मीमाँझ भने, ‘हाल नेकपा विप्लव समूहले राज्यसत्ता प्राप्त गर्न विभिन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि गर्दै जबरजस्ती चन्दा असुली, आगजनी, तोडफोड गर्ने रणनीति अख्तियार गरेकाले उक्त काम कारवाहीप्रति मेरो असहमति छ, त्यसैले पार्टी परित्याग गरेको हुँ’, उनले भने। पछिल्लो समय विप्लव समूहको गतिविधिबाट आफूमा वितृष्णा पैदा हुनुका साथै मन नपरेकाले पार्टी परित्याग गरेको उनको भनाई छ। 

‘म नेपालको संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै अब उपरान्त विप्लव समूहको कुनै पनि सांगठनिक पद तथा कार्यक्रममा सहभागी हुने छैन’, उनले भने, ‘स्वतन्त्रपूर्वक जिवनयापन गर्नेछु।’ 

प्रमुख जिल्ला अधिकारी ढकालले कुनै पनि नागरिकले स्वतन्त्र पूर्वक जिवनयापन गर्न पाउने तर कानुन विपरित कुनै पनि गतिविधि गरेको भए सो अनुसारको कारवाही जुनसुकै समयमा हुन सक्ने जनाए। ‘चन्दा असुली, आगजनीजस्ता कानुन विपरित हुने कुनै पनि काम गरेको प्रमाणित भए श्रेष्ठलाई कारवाही हुन्छ’, प्रजिअ ढकालले भने, ‘तर स्वतन्त्र रहेर जिवनयापन गर्छु भन्दा जुनसुकै नागरिकले पाउँछ। 

इलाका प्रहरी कार्यालय खुर्कोटले उनलाई गोलञ्जोर गाउँपालिका ७ खुर्कोटबाटै पक्राउ गरेपछि उनले पार्टी परित्याग गर्ने भनेर आत्मसमर्पण गरेकाले उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रबहादुर सिंहले बताए।

प्रकाशित: २४ चैत्र २०७५ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App