११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनअपेक्षा अनुसार काम नहुँदा निरासा : जनार्दन शर्मा

रुकुम- पूर्वगृहमन्त्री जनार्दन शर्माले संघीयताको अनुभुति गराउन लागि जनभावना अनुसार काम गर्नुपर्ने बताएका छन्। विभिन्न कारणले जनताको अपेक्षा अनुसार काम हुन नसक्दा संघीय व्यवस्थाप्रति निरासा पैदा हुन थालेको उनको भनाई थियो। आइतबार रुकुम (पश्चिम)मा स्वास्थ्य कार्यालय उद्धघाटन गर्दै पूर्वगृहमन्त्री शर्माले जनप्रतिनिधि र कर्मचारी मिलेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताए।

नयाँ व्यवस्थामा पनि पुरानै तरिकाले काम हुँदा नागरिकले परिवर्तनको अनुभुति गर्न नपाएकाले संस्कार र सेवामा परिवर्तन गर्नुपर्ने उनको जोड थियो। ‘नयाँ तरिकाले काम गर्नको लागि जनप्रतिनिधिहरु नयाँ भिजनका साथै सक्रिय भएर लाग्नुपर्ने अवस्था आएको छ,’ पूर्वमन्त्री शर्माले भने, ‘जिल्लामा स्वास्थ्य क्षेत्रको विकास गर्नको लागि सबै मिलेर काम गर्नुपर्छ।’ स्वास्थ्य सेवामा परिवर्तन ल्याउनको लागि सरकारी कार्यालयमा बोर्ड नयाँ राख्दैमा सेवा परिवर्तन नहुने उनको भनाई छ।

स्वास्थ्य क्षेत्रमा विकास गर्नको लागि अब जनप्रतिधि र कर्मचारी गाउँगाउँमा पुगेर सचेतनाको काम गर्न उनले सुझाव दिए। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउको लागि नागरिकलाई प्राप्त सेवा दिनुपर्ने उनले बताए। आर्थिक अभावले गर्दा स्वास्थ्य उपचारबाट बन्चित नहुनुपर्ने गरेर आफुहरुले व्यवस्था गर्न थालेको उनको भनाई थियो। सरकारले तोकेका बाहेक अन्य औषधि स्थानीय सरकारले खरिद गरेर नागरिकको उपचार गरिने प्रतिनिधिसभा सांसद् शर्माले बताए।

स्वास्थ्य कार्यालयमा कुनै पनि अभाव हुन नदिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गिता जोशीले बताइन्। विभागले कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी, स्वास्थ्यकर्मी, औषधि तथा अन्य सामाग्रीको समेत प्राप्त व्यवस्था गर्ने बताइन्। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि विभाग कृयाशिल भएर लागेको उनको भनाई थियो। सरकारले पहिले ३५ वटा मात्र स्वास्थ्य कार्यालय राखेको भएपनि अहिले भने ७७ वटै जिल्लामा स्वाथ्य कार्यालय स्थापना भइरहेको उनको भनाई छ।

स्वास्थ्य कार्यालय उद्धघाटन भएसंगै अब ग्रामीण क्षेत्रमा प्रवाह हुने सेवालाई थप सहज हुने अपेक्षा गरिएको छ। स्वास्थ्य कार्यालयको अभावले गर्दा गाउँ गाउँमा वितरण हुने विभिन्न खोप, प्रसुती सेवा, विभिन्न अस्थायी साधन कति प्रयोग भए भन्ने कुराको कुनै तथ्याङ्क नभएको यहाँका कर्मचारीले बताए। जिल्लामा रहेका ६ स्थानीय तहले कुन ठाउँमा कस्तो अवस्था छ भन्ने कुराको अहिले करिब ४७ प्रतिशत तथ्याङ्क संकलन भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीले जानकारी दिए।

कार्यालय उद्धघाटन भएपनि कर्मचारीको भने अझै टुंगो लागेको छैन्। साविकको जनस्वास्थ्य कार्यालयमा १५ जना कर्मचारी भएपनि अब स्वास्थ्य  कार्यालयमा कति जना कर्मचारी रहने भन्ने विषयमा कुनै जानकारी नआएको ओलीले बताए। स्वास्थ्य कार्यालय उद्धघाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मालगायतको पनि सहभागीता रहेको थियो।

प्रकाशित: २४ चैत्र २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App