सुर्खेत–
पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
प्रदेश २ का विभिन्न जिल्लाहरुमा आएको हावाहुरीका कारण ठूलो मानवीय क्षति भएको छ। सयौं घाइते भएका छन्। हावाहुरीले धेरै घरबारविहीन भएका छन्। करोडौंका भौतिक संरचनामा क्षति पुगेको छ। दिनेश अधिकारीको शब्द र स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भनेजस्तै तराईमा आएको ‘आँधी’ हिमाल र पहाडले ‘छेक्न’ नसके पनि तराईको विपत्तिमा मल्हम लगाउन यहाँका सांसदहरु जुर्मुराएका छन्।
मंगलबारको कर्णाली प्रदेशसभा बैठकमा तराईका जिल्लाहरुमा हावाहुरीले पु¥याएको मानवीय र भौतिक क्षतिमा मल्हम लगाउनका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश भयो। प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चार दिन बराबरको तलब र भत्ता तराईका हावाहुरी पीडित जनतालाई उपलब्ध गराउने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश गरे। ‘गीतमा भनिएजस्तै अहिले तराईमा आँधी आएको छ, ठूलो जनधनको क्षति भएको छ’, सांसद शाहीले भने, ‘यो मानवीय विपत्तिमा हिमाली प्रदेश कर्णालीले सघाउनुपर्छ।’
सांसद शाहीले प्रदेश सरकारलाई पनि राहत प्याकेज घोषणा गर्न आग्रह गरे। ‘अरु प्रदेश सरकारले धमाधम पीडित जनतालाई राहत प्याकेज घोषणा गरिसकेका छन्’, उनले भने, ‘कर्णाली प्रदेश सरकारले पनि समयमै सक्दो राहत प्याकेज घोषणा गर्नुपर्छ।’
सत्तारुढ दलका सांसद रातो कामीले विपत्तिमा सबैले सघाउनुपर्ने बताए। ‘हावाहुरीले प्रदेश दुईमा ठूलो क्षति पु¥याएको छ, यस्तै विपत्ति हामीलाई पनि पर्न सक्छ’, उनले भने, ‘विपत्तिमा सघाउनु सबैको कर्तव्य र दायित्व हो।’ कर्णाली प्रदेशसभामा ४० जना सांसद छन्। सांसदको चार दिनको तलब दुई लाख बराबर हुन आउँछ। सार्वजनिक महत्वको प्रस्तावमाथि बुधबारको संसद बैठकमा छलफल हुने छ।
प्रकाशित: १९ चैत्र २०७५ १६:०१ मंगलबार