८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

आतंक छाडेर वार्तामा आउ : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रबिक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतंक छाडेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ। सरकारले चन्द नेतृत्व पार्टीलाई प्रतिबन्ध लगाएपछि शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसले सबैखालै विमतिको हल राजनैतिक संवादबाट खोज्न सकिने स्पष्ट पारेको हो।

‘शान्ति, सहमतिको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यसका नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न। अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।’

दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको स्मरण गराउँदै कांग्रेसले भनेको छ, ‘आजको मितिमा हिंसात्मक विद्रोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गर्दछ।’

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरेको जनाउँदै उसले भनेको छ, ‘पार्टीको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुवैै कम्युनिस्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको श्वास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराउँदछ।’

प्रकाशित: ३ चैत्र २०७५ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App