४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिकाले जुनसम्म नयाँ स्काइ ट्रक हस्तान्तरण गर्ने

फाइल फाेटाे

काठमाडौ – अमेरिकाले नेपाली सेनालाई दिने भनिएका पाँचओटा स्काइ ट्रक(हेलिकप्टर)मध्ये चालु हालतमा रहेका दुई स्काई ट्रक जुनसम्म हस्तान्तरण गर्ने भएको छ।

पुसको अन्तिमम साता दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर फिलिप्स एस डेभिडसनले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँगको भेटमा यस्तो प्रतिवद्धता जनाएको रक्षा मन्त्रालयले जनाएको छ। दुई दिने नेपाल भ्रमणमा आएका डेभिडसनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पोखरेललगायतका उच्च अधिकारीसँग भेट गरेका थिए।

अमेरिकाले नेपाली सेनालाई दुई नयाँ र दुई चालु हालतमा रहेका स्काई ट्रक मर्मत गरेर दिने प्रतिबद्धता जनाएको थियो। नेपाली सेनाको आग्रहमा पछि थप एकसमेत गरी पाँचवटा स्काई ट्रक दिने प्रतिबद्धता अमेरिकी पक्षले गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।

चालु हालतमा रहेका दुई स्काइ ट्रक दिने प्रतिबद्धता जनाए पनि दुईवटा नयाँ र पछि सेनाले प्रस्ताव गरेको एउटासमेत गरी तीनवटा स्काइ ट्रक दिने विषय भने हालसम्म पनि अनिश्चित रहेको मन्त्रालयले जनाएको छ। ‘बाँकी तीन स्काइ ट्रक पनि हस्तान्तरण गर्ने सहमति भए पनि कहिले दिने भन्ने अनिश्चित रहेको छ,’ स्रोतले भन्यो।

अमेरिकाले सेनालाई दिने भनेका दुई स्काइ ट्रक विगत लामो समयदेखि हस्तान्तरण हुन सकेका छैनन्। सेनालाई ती ट्रक द्वन्द्वकालमै दिने भनिए पनि अमेरिकाले राजाको प्रत्यक्ष शासनपछि सैन्य सहयोग दिन बन्द गरेसँगै स्काइ ट्रक हस्तान्तरण पनि अलपत्र परेको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणपछि उक्त सहयोगलाई पुनः चालु गर्ने सहमति भएको थियो। अमेरिका भ्रमणबाट फर्किएलगत्तै तत्कालीन प्रधान सेनापति क्षत्रीले चारवटै स्काइ ट्रक अमेरिकाले छिट्टै हस्तान्तरण गर्ने सहमति भएको जानकारी दिएका थिए।

सहयोगबापत दिइने भनिएका ट्रक हस्तान्तरणमा ढिलाइ भएपछि इन्डो प्यासिफिक कमाण्डर डेभिडसनको नेपाल भ्रमणका क्रममा रक्षा मन्त्री पोखरेलले यस विषयमा चासो राखेका थिए। ‘रक्षामन्त्रीज्यूले भेटमा ट्रक हस्तान्तरणका विषयमा चासो राखेपछि डेभिडसनले जुनसम्म चालु अवस्थामा रहेका स्काइ ट्रक मर्मत गरी नेपाली सेनालाई दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ रक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने।

नेपाली सेनाले भने स्काइ ट्रक हस्तान्तरणका विषयमा अनविज्ञता प्रकट गरेको छ। सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले यस विषयमा कुनै नयाँ सूचना प्राप्त नभएको बताए। ‘स्काइ ट्रक हस्तान्तरणका विषयमा कुनै नयाँ सूचना प्राप्त भएको छैन,’ ढकालले भने।

हाल नेपाली सेनासँग दुई वटा स्काइ ट्रकसँगै १२ हेलिकप्टर रहेका छन्। त्यसमध्य सातवटा लाइट, एउटा मिडिएम तथा चारवटा हेवी हेलिकप्टर रहेका छन्। सेनाले दीर्घकालीन हवाई योजना अन्तर्गत विं सं.२०८२ सम्ममा अहिले रहेका एयर क्राफ्टको संख्या वृद्धि गर्दै ३१ पुर्याउने लक्ष्य राखेको छ।

दीर्घकालीन हवाई योजनाअन्तर्गत सेनाले मध्य एयर बेसमा १३, पश्चिम एयर बेसमा ८, पूर्वी एयर बेसमा चार र एभिएसन तालिम केन्द्रमा दुई एयरक्राफ्ट राख्ने जनाएको छ। विशिष्टहरूको उडानका लागि सेनाले चार वटा नयाँ महंँगा हेलिकोप्टर खरिद गर्दैछ।

प्रकाशित: २३ माघ २०७५ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App