२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रुकुम (पूर्व) सदरमुकाम विवाद : पूर्व सहायकमन्त्री रोकालाई थप उपचारका लागि काठमाडौं लगियाे

रुकुम - रुकुम (पूर्व) को सदरमुकाम विवादमा भइरहेको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका पूर्व सहायकमन्त्री सहित दुई जनाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ। कुटपिटबाट उनीहरुको शरीरका विभिन्न ठाउँमा भित्री चोट लागेका कारण थप उपचारको लागि पूर्व सहायक मन्त्री केशरमान रोका र नेकपाका नेता सतमान पुनलाई आइतबार काठमाडौं पठाइएको हो।

शनिबार रुकुमकोटका आन्दोलनकारीले पूर्व सहायकमन्त्री सहित पूर्वी क्षेत्रका ४ जना नेतालाई कुटपिट गरेका थिए। उनीहरुकै कारण गोल्खाडामा सदरमुकामको केन्द्र सरकारले तोकेको भन्दै आन्दोलनकारीले नेपाली कांग्रेस रुकुम (पूर्व) का सभापति समेत रहेका पूर्व सहायकमन्त्री रोका सहित नेकपाका नेता पुन, पुनिराज घर्ती र कांग्रेस नेता ध्रुवकुमार पुनलाई कुटपिट गरेका थिए।

कुटपिटबाट पुनिराज र ध्रुवलाई सामान्य चोट लागेको भएपनि पूर्व मन्त्री रोका र सतमानलाई गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ। आन्दोलनकारीले गरेको कुटपिटबाट रोकाको कम्मर, टाउकोका साथै शरीरका विभिन्न ठाउँमा चोट लागेको छ भने सतमानको घाँटी र पिठ्युमा चोट लागेको बताइएको छ। उनीहरु दुबै जनालाई नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाडौं पठाइएको सतमानका छोरा सुरेश पुनले बताए। जिल्ला अस्पतालका डाक्टरको सल्लाह अनुसार उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको उनले बताए। उनीहरु शनिबार रुकुम (पश्चिम) बाट गृहजिल्ला जाँदै गर्दा आन्दोलनकारीहरुले रुकुमकोट पुग्नु अगावै रानीकोट भन्ने ठाउँमा कुटपिट गरेका थिए। 

देश संघीय संरचनामा गएपछि सिंगो रुकुमलाई टुक्राएर रुकुम (पूर्व) लाई छुट्टै नयाँ जिल्लाका रुपमा स्थापना गरिएको थियो। उक्त जिल्लाको सदरमुकाम रुकुमकोट वा खोल्गाडामा कुन ठाउँमा राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ। २०७४ माघ ११ गते नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिल्लाको सदरमुकामको केन्द्र पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोल्खाडामा राख्ने निर्णय गरेको थियो।रुकुमकोटबासीले सरकारले गरेको निर्णय खारेजको माग गर्दै माघ १६ गते सर्बाेच्चमा रिट दर्ता गराएका थिए। अधिवक्ता गणेश हमाल र स्थानीय कृष्ण रेग्मी, दत्तबहादुर बस्नेतले सर्वाेच्चमा रिट दर्ता गरेका थिए। यस विषयमा सर्बाेच्चले अहिलेसम्म १६ पटक पेशी सार्दै आएको छ। आगामी २७ गते सर्बाेच्चले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ। त्यसैलाई प्रभाव पार्न सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हाे।

गोलखाडाबासीहरु सरकारले गरेको निर्णय कार्यान्वयन गराउन भन्दै आन्दोलन गरिरहेका छन् भने रुकुमकोटबासीहरु उक्तः निर्णय खारेज हुनुपर्ने माग गर्दै आएका छन्। दुवै पक्षले आन्दोलन गरिरहेको भएपनि रुकुमकोटमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ।

सरकारले गरेको निर्णय कार्यान्वयनको दबाबका लागि गोल्खाडावासीहरु आगामी २२ गते रुकुमकोटमा आएर शान्तिपूर्ण र्यालीको प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही दिन रुकुमकोटबासीले पनि आन्दोलनलाई व्यापक बनाउने बताएका छन्।

प्रकाशित: २० माघ २०७५ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App